धनगढी - अतिसङ्कटापन्न खरमजुर नेपालबाट लोप हुने खतरा बढेको छ। यो चराको सङ्ख्या वृद्धि हुन नसकी घट्दै गएकाले लोप हुने खतरा बढेको हो।
नेपालमा एक सयभन्दा कम सङ्ख्या रहेको खरमजुर शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कोशीटप्पु वन्यजन्तु आरक्ष र चितवन नेसनल पार्कमा रहेका छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा खरमजुर रहेको भनिए पनि केही वर्षदेखि फेला नपरेको बताइन्छ।
घाँसे मैदानमा बस्ने यो प्रजातिको चरा नेपालमा पाटेबाघभन्दा पनि अति सङ्कटापन्न भइसकेको चराविद् हिरुलाल डङ्गौराले बताए। उनले भने, “यिनीहरूको अस्तित्व गाह्रो अवस्थामा पुगेको छ। यसको केही कारणमध्ये बासस्थान मासिनु र सिकार प्रमुख हो।” अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन)को सूचीमध्ये अतिसङ्कटापन्न अन्तिम अवस्था हो। सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि यो चराको सङ्ख्या घटेको छ। गत वर्ष सातवटा अभिलेख भएकोमा यो वर्ष गणना गर्दा सङ्ख्या घटेको पाइएको डङ्गौराले बताए ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहकार्यमा नेपाल पन्छी संरक्षण सङ्घ ९बीसीएन०ले चैत ७ देखि १४ गतेसम्म गणना गरेको थियो। यसपालिको गणनाको तथ्याङ्क भने पछि मात्रै सार्वजनिक गरिने जनाइएको छ। मार्च वा अप्रिलमा खरमजुर गणना गरिन्छ। यो बेला घाँस सानो हुने र ‘ब्रिडिङ’ सिजन रहेकाले खरमजुर देखा पर्ने गर्छन्।
अन्य समयमा भने फेला पार्न मुस्किल हुने गरेको जनाइएको छ। प्रजनन सिजनमा भाले खरमजुरले पोथीलाई आकर्षित गर्नका लागि घाँसमाथि उफ्रने, उड्ने गर्नाले फेला पार्न सजिलो हुने गरेको चराविद् डङ्गौराको भनाइ छ। उनले यस पटक शुक्लाफाँटामा गरिएको गणनाबाट प्राप्त तथ्याङ्कले चिन्तित बनाएको बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र घाँसे मैदानमा मात्रै यो प्रजातिको चरा पाइन्छन्। विगतमा कञ्चनपुरको चानदेवमा खरमजुर अभिलेख भए पनि अब मानव बस्ती बसेका कारण त्यता यो चरा पाउन छोडेको बताइएको छ। “घाँसे मैदान खुम्चिँदै गएकाले खरमजुरको अस्तित्व नै सङ्कटमा परेको छ,” डङ्गौराले भने ।
उनका अनुसार उड्नेभन्दा पनि बढी हिँड्ने यो प्रजातिको चराले घाँसमै बस्ने, त्यसैमा गुँड बनाएर बच्चा कोरल्ने गर्छन्। पोथी ओथारो बसेका बेला सिकारी पन्छी र स्याल, बिरालाजस्ता जनावरले पनि खरमजुरलाई मार्ने गर्छन्। त्यसका अतिरिक्त खेतमा पुगेका बेला मान्छेले विष हालेर मार्ने वा कृषिमा प्रयोग गरेको विषादीका कारण पनि यो चरा मर्ने गर्छन्।
शुक्लाफाँटामा घाँसे मैदान राम्रो रहे पनि यसैमा खरमजुरको सङ्ख्या घट्नु चिन्ताको विषय रहेको बताइएको छ। निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर मेहताले खरमजुर जोगाउन निकुञ्जले घाँसे मैदानको व्यवस्थापन गर्दै आएको बताए ।