गर्मी सुरु नहुँदै पहाडतर्फ लाग्नुपर्ने बाध्यता थियो। औलो लागेर धेरै जनाको ज्यान जान्थ्यो। “विसं २०२८ सालमा औलो उन्मूलन भएपछि बाह्रै महिना तराईमा बस्न थाल्यौँ”, ८४ वर्षीय ऐरले भने, “त्यो बेला जमिनदारी प्रथा थियो, जमिन्दारलाई रैती राख्ने अधिकार हुन्थ्यो, रैती राख्ने हटाउने कार्य जमिनदारले गर्दथे।” कृषि उपज खरिद गर्न भारतीय व्यापारी (महाजन)ले गोरु गाडा लिएर आउँथे। महाजनसँगै अन्नको कारोबार हुन्थ्यो। जमिनदारसँग पछि रुसमा बनेका ठूला ट्याक्टर आए। खेत गोरुसँगै ट्याक्टरले जोत्ने कार्य हुन थाल्यो।
“भारतीय डाँकाहरुले दिउँसै आएर लुटपाट मच्चाउन थालेपछि प्रधानपञ्च भएकै बेला विसं २०३२ तिर मैले प्रहरी चौकीको माग गरेँ”, ऐरले भने, अस्थायी थाना राख्यौँ, चारजना मात्रै प्रहरी बस्थे, प्रहरी बस्न थालेपछि डकैती हुने क्रममा कमी आयो, पहिलेको थाना अहिले इलाका प्रहरी कार्यालय भएको छ, मिडिल स्कुल बनायौँ, अहिलेको त्यो श्रीकृष्ण मावि उच्च मावि बनेको छ, जिल्लाको सदरमुकाम बेलौरी त्यसबेला थियो, मातपोत जसलाई पोता भन्थ्यौँ, पोता बुझाउन बेलौरी जान्थ्यौँ।” झलारीलाई राणाकालीन समयअघिदेखि नै झलारी भन्थे यसको नाम झलारी कसरी रहन गयो भन्नेबारे जानकारी नभएको उनको भनाइ छ। औलो उन्मूलनसँगै पूर्व पश्चिम राजमार्ग खोलिएपछि झलारी क्षेत्रमा बस्ती बस्न सुरु भएको हो। सनवोरा लगायतका नदीमा पक्की पुल बनेपछि झलारी क्षेत्रमा घर निर्माण हुन थाले। बिस्तारै बजारका रुपमा विकास भयो।