अत्तरिया - कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज सातौँ दिन ।
अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा गोदावरी नगरपालिका २ स्थित लामीताल परिसरमा जारी सातौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ मा आज चर्चित लोक दोहोरी गायक रामजी खाँड , गायक टेक बि.सी र बाल गायिका आयुष गौतम आउँदै छन् ।
महोत्सवको आज सातौँ दिन उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए । यसअघि (हिजो ) सोमबार चर्चित लोक दोहोरी गायक पुष्कल शर्मा , देउडा गायक ध्वजराज महरा र गायक राज कुश्मीले आफ्नो बेजोड प्रस्तुती राखेका थिए।
डेढ सय वटा स्टल रहेको महोत्सवमा बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु रहेका छन् ।महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।
महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु,जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ।
प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ।