अत्तरिया - कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको आज छैठौँ दिन ।
अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा गोदावरी नगरपालिका २ स्थित लामीताल परिसरमा जारी सातौँ संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०७९ मा आज चर्चित लोक तथा दोहोरी गायक पुष्कल शर्मा , देउडा गायक ध्वजराज महरा र गायक राज कुश्मी आउँदै छन् ।
महोत्सवको आज छैठौँ दिन उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको प्रस्तुती समेत रहने अत्तरिया उद्योग वाणिज्य संघका महासचिव यज्ञराज जोशीले जानकारी दिए । यसअघि (हिजो ) आइतबार चर्चित गायिका इन्दिरा जोशी ,चर्चित लोक पप तथा देउडा गायक चेतन बोहरा र नृत्यङ्गना रुविना अधिकारीले आफ्नो बेजोड प्रस्तुती राखेका थिए।
महोत्सवमा डेढ सय वटा स्टल रहेका छन । बाल उद्यान, रमाइलो मेला, थारु खानाका परिकारहरु महोत्सवमा रहेका छन् ।महोत्सवको विशेष आकर्षणका रुपमा लामीतालमा डुङ्गाको व्यवस्था पनि गरिएको छ ।
महोत्सवमा विद्यार्थीहरुको लागि ५० र सर्वसाधारणका लागि ८० रुपैयाँ टिकट कायम गरिएको आयोजकले जनाएको छ । फरक क्षमता भएका व्यक्तिहरु,जेष्ठ नागरिक तथा एकल महिलाका लागि भने महोत्सव प्रवेश निःशुल्क गरिएको छ । महोत्सव माघ ९ गतेसम्म सञ्चालन हुनेछ।
प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवर्द्धन गर्ने उद्देश्यले २०७२ सालदेखि हरेक वर्ष सुदूरपश्चिम प्रादेशिक महोत्सवको आयोजना गरिँदै आएको छ।