कैलाली- सुदुरपश्चिम सरकारले अबदेखि नागरिकका गुनासाहरु सामाजिक सञ्जाल, इमेल, एसएमएस मार्फत पनि गुनासा टिपाउन सक्ने भएका छन् । नागरिकका गुनासा सुन्न सुदूरपश्चिम सरकारले टेलिफोनको प्रयोग गर्दै आएकोमा अब देखी सामाजिक सञ्जाल, इमेल, एसएमएस मार्फत पनि गुनासा टिपाउन सक्ने भएको हो ।
सुदुरपश्चिम सरकारले नागरिकका गुनासा सुन्न ‘हेलो सीएम’ सञ्चालनमा ल्याएको थियो । नागरिकले आफ्नो गुनासा टिपाउन अब चिठीपत्र, एसएमएस, अनलाइन वेबसाइट, फेसबुक, ट्विटरमार्फत समेत सक्नेछन् । कार्यक्रमका प्रमुख नवराज ओझाले ‘हेलो सीएम’ सेवालाई सबैको पहुँचमा पु¥याउन सबैखाले माध्यमको प्रयोग गरिएको बताए ।
जनताका गुनासा सिधै सरकारसँग पुर्याउन तीन वर्षअघि ‘हेलो सीएम’ सञ्चालनमा ल्याइएको थियो । मुख्यमन्त्री त्रिलोचन भट्टले व्यक्त गरे, ‘जनताका सुझाव–सल्लाह, गुनासा तथा समस्या सम्बोधन गर्न सुरु गरिएको सेवालाई युगसुहाउँदो गरी परिस्कृत गरिएको छ ।’उनले नागरिकको गुनासो सुन्ने व्यवस्थालाई प्रदेश सरकारका विषयगत सबै मन्त्रालय, पालिका र सङ्घीय सरकारसँग जोड्न पनि निर्देशन दिए ।
वेबसाइडको लिङ्क हेलो सीएम डट सुदूरपश्चिम डट जीओभी डट एनपीमार्फत गुनासो दर्ता गर्न सकिने बताएको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीका अनुसार टिपाइएका गुनासो अपलोड भएको चार घण्टाभित्रै सम्बोधन गर्ने गरेर कर्मचारी खटाइएको जानकारी दिँदै विषयगत सबै मन्त्रालयमा चौबीसै घण्टा खुल्ला रहने गरी दुई जना कर्मचारी व्यवस्था मिलाइएको बताए ।