अत्तरिया - युवाहरुले आयोजना गर्ने हरेक सार्बजनिक कार्यक्रममा आउने देशका ठुला ठुला नेताहरुको भाषण एउटै हुने गर्दछ – ‘युवाहरु यो देशका खम्बा हुन् , युवाहरु भबिष्यका कर्णधार हुन् , हामीले युवाहरुका लागि केहि गर्ने बेला आएको छ , अब तपाईहरुले बिदेश जानु पदैन हामी तपाईहरुका लागि नेपालमै रोजगारीको ब्यवस्था मिलाइरहेका छौ । ’ तर त्यो बोलेको कुरा , त्यो भाषण खाली बोलीमा मात्रै सिमित रहन्छ । जनतावाट चुनिएर देश बनाउने जिम्मा पाएका जनप्रतिनिधिहरुको कुरा सबै बोली र भाषणमा मात्रै सिमित हुदाँ हजारौ नेपाली युवाहरु खाडी मुलमा रात दिन नभनी आफ्नो पसिना चुहाइरहेका छन् ।
आफ्नै गाँउ ठाउँ तथा आफ्नै देशमा रोजगारीको अबसर नपाएपछि भबिष्यका कर्णधार भनिने ति युवाहरु अहिले दैनिक हजारौको संख्यामा खाडी मुलुकमा जान बाध्य रहेका छन् । यसले गर्दा युवाहरुमा आफ्नो देश , आफ्नो गाँउ ठाँउको माया र आफ्नो धर्म ,कला , सस्कृति प्रतिको माया पनि घट्दो क्रममा रहेको पाइन्छ ।
यसमा पनि अझै सुदुरपश्चिम प्रदेश बिभिन्न भाषा , कला , सस्कृति र परम्पराले भरिपुर्ण रहेको छ । देशमा रोजगारको अवसर र बाताबरण नभएर भारत सहित बिश्वका विभिन्न देशहरुमा बर्षौ देखी अध्ययन , ब्यापार ब्यबसाय तथा श्रम गरि रहेका सुदुरपश्चिमेलिहरुमा सुदुरपश्चिमको मौलिक सस्कृती , परम्परा चालचलन र मौलिक चाडपर्वहरु प्रती चासो घट्दै गइरहेको छ । यद्धपी यसको संरक्षण एबम् सम्बद्धन गरी यसलाई जोगाई राख्न प्रवासमा रहेका केहि युवाहरु एक जुट भएर लागि रहेका छन् ।
“हाम्रो सुदुर हाम्रो पहिचान कला सस्कृतीको जगेर्ना गर्नु युवा अभियान“ मुल उदेश्यका साथ छिमेकी राष्ट्र भारतमा रहेका सुदुरपश्चिम प्रदेशका युवाहरु मिलेर भारतको कर्नाटकमा “सुदुर पश्चिमेलि युवा समाज“ गठन गरेका छन् । ‘सस्कृती लोप भए हाम्रो पहिचान नै गुम्छ ’भन्ने कुरालाई मध्यनजर गर्दै प्रबासीमा रहेका युवाहरू एकताबद्ध भएर ‘सुदुर पश्चिमेलि युवा समाज’गठन गरेका हुन् । युवा समाजसेवी जनक राज अवस्थीको संयोजकत्वमा १७ जनाको कमिटि गठन गरिएको छ ।
जसको अध्यक्षमा लोक सिं औजी , उपाध्यक्षमा तपेश खड्का, जिवन परियार, राजु नेपाली र राजु अवस्थी , कोषाध्यक्षमा महेश साउद , स– कोषाध्यक्षमा भान देव भट्ट , सचिवमा अर्जुन बुढा ,स–सचिवमा प्रेम दत्त भट्ट रहेका छन् । यस्तै सो कमिटिको सल्लाहकारमा कृष्ण रावल, प्रकाश साउद, बिरेन्द्र हमाल, करन नेपाली , अर्जुन नेपाली र बाकिँ साधारण सदस्य गरी १७ जना रहेका छन । भारतको कर्नाटकमा मात्रै नभई छिमेकी राज्य तामिलनाडुको उटिमा पनि यसको जिल्ला समिति गठन भएको र अबका दिनमा भारतका विभिन्न राज्य सहित मलेसियामा पनि स्थापना हुने संस्थाका संयोजक एबम् समाजसेवी जनकराज अवस्थीले जानकारी दिए ।
“सुदुर पश्चिमेलि युवा समाज“गठन भएदेखी सामाजिक सद्भाव ,एकता मेलमिलाप ,भाइचारा सहयोग र मित्रतालाई मजबुद बनाई सुदुरपश्चिमको मौलिक चाडपर्व सस्कृती परम्पराको जगेर्नाका लागी गौरा पर्व , बिशु पर्व , दशैका बेला बिभिन्न विभिन्न जनचेतनामूलक कार्यक्रम सहित अन्य सामाजिक कार्यहरु निरन्तर रुपमा गर्दै आएको संयोजक अबस्थीले बताए । यसका साथै प्रबासमा रहेर आफ्नो कामको बाबजुद पनि समय मिलाई बिपद तथा समस्यामा पेरेको सुदुरपश्चिमका साथै नेपाली नागरिकहरुलाई बेलाबेलामा आर्थिक तथा भौतिक सहयोग गर्दै आएको उनले बताए ।
प्रवासम बस्ने जो सुकै नेपालीहरुलाई पनि आइपर्ने दुखकष्टहरु समाधान गर्नका लागि युवाहरुको यो टिमले सधैब सहयोग गर्न तयार रहेको संस्थाका अध्यक्ष लोक सिं औझीले बताए । उनले प्रबासी रहेका नेपाली दाजुभाइ दिदिबहिनी आमाबुबामा आइ पर्ने समस्या सामाधानका लागी यो भन्दा पहिले पनि थुप्रै कामहरु गरिसकेको र आगामी दिनमा पनि निरन्तर गरिरहने बताए । उनले प्रवासमा रहेका सबैका साझा समस्याहरुलाई निराकरण गर्न एक अर्काको रिस राग भन्दा पनि सबैले एक जुट भएर अघि बढ्नु पर्ने बताए ।
'नेपालबाट उच्च शिक्षा अध्ययनको लागी होस वा श्रम रोजगार तथा ब्यापार ब्यबसायको लागी भारत आउनेको नेपाल सरकार कुनै तथ्यांक नहुदा बर्षेनी कति जना को मृत्यु हुन्छ भन्ने यकिन छैन 'उनले भने– 'स्वास्थ बिमा ,जिवन बिमा र दुर्घटना बिमा र काम गर्ने कम्पनी सङ्ग सम्झौता पनि नहुदा राजदुतावासबाट पनि सहयोग हुदैन । एक छाक खान र लाउन समेत नपुग्ने सुदुरपश्चिमका युवाहरू जस्तोसुकै जोखिमपुर्ण काम गर्नु तयार रहदा दिना नुदिन घटना तथा दुर्घटना बढ्दै गाएका छन ।'
उनले सुदुरपश्चिमवाट मात्रै दैनिक सयौको सख्यामा युवाहरु भारतमा पसिरहेकाले यसको अन्त्य गरी आफ्नै प्रदेशमा रोजगारको अबसर सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराउन चाहेको बताए । यसका लागि प्रवासवाटै भएपनि आफ्नो संस्थाले सुदुरपश्चिम प्रदेश सरकारलाई बारम्बार झकझकाइ रहने उनले जानकारी दिए ।