अत्तरिया – सुदूरपश्चिम प्रदेस सरकारले कैलालीको गोदावरीमा राजधानी राख्न गरेको निर्णय कार्यान्वयनका लागि दवाव दिन राजधानी निर्माण स्थलमा व्यानर राख्नका लागि रकम संकलन अभियान सुरु गरिएको छ ।
राजधानी निर्माणका लागि ‘शिध्र राजधानी निर्माणका लागि युवा दवाव समुह’ ले आज गोदावरीमा अभियान सुरु गरेको हो । आज अभियान अन्तरगत अत्तरिया क्षेत्रका युवाहरु गोदावरी नगरपालिका २ गोदावरीमा भेला भई रकम संकलन गर्ने अभियान सुरु गरेका हुन ।
अभियानका अगुवा आनन्द भट्टले राजधानी निर्माण स्थलमा प्रदेस सरकारले १ बर्ष बितिसक्दा पनि कुनै कार्य अगाडी नबढाएकाले दवाव दिन अभियान सुरु गरिएको बताए ।
‘राजधानी स्थापनाका लागि दवाव दिन राजधानी निर्माण स्थलमा व्यानर राख्ने छौ , व्यानर निर्माणका लागि स्वईच्छुक रुपमा रकम दान गर्न चाहनेहरुका लागि मन्दिरमा दान पेटि राखेका हौ ।’ भट्टले भने– ‘ व्यानर निर्माणका लागि रकम संकलनक भएपछि सबै दातालाई भेला गरि प्रदेश सरकारले राजधानी निर्माणका लागि निर्णय गरेको क्षेत्रमा व्यानर राख्ने छौ । साथै त्यस पछि थप दवावका कार्यक्रम पनि अगाडी बढाउने छौ ।’ उनले राजधानी निर्माणका स्वर्फुत युवाहरु लागिरहेकाले सबैलाई सहयोगको अपिल गरे ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ र ४ मा पर्ने गोदावरीमा सुदुरपश्चिम प्रदेशको स्थायी राजधानी बनाउने निर्णय गरिएको झण्डै एक बर्ष पुग्न लागेको राजधानि निर्माणका लागि कुनै कार्य अगाडी बढ्न सकेको छैन । प्रदेशको स्थायी राजधानी गोदावरी बनाउने प्रस्तावलाई गत बर्ष असोज १२ गतेको प्रदेश सभाको बैठकमा दुई तिहाइ बहुमतले पारित गरेको थियो ।
राजधानी तोकिएको लामो समय सम्म त्यस ठाउँमा वातावरणीय प्रभाव मूल्यांकन , भौतिक संरचना निर्माणका लागि डिपिआर बनाउने लगायतका कामहरु हुनुपर्ने भएपनि अहिले सम्म त्यस ठाँउमा कुनै पनि काम हुन सकेको छैन । राजधानी कार्यान्वयनका लागि गत आर्थिक वर्ष प्रदेश सरकारले छुट्टयाएको बजेट फ्रिज भएको छ ।
उता प्रदेश सरकारले भने राजधानी तोकिएको क्षेत्रको जग्गाको स्वामित्व संघबाट प्राप्त नहुँदा र प्रदेश सभाको निर्णय विरुद्ध अदालतमा मुद्दा पर्नुले राजधानी कार्यान्वयनमा ढिलाई भैरहेको बताउदै आएको छ ।