अत्तरिया - सुदूरपश्चि प्रदेश सरकारले दुई बर्ष अगाडी कैलालीको गोदावरी नगरपालिकालाई प्रदेशको स्थायी राजधानी तोकेपछि यस तर्फ सबै ध्यान केन्द्रित भएको छ । राजधानी तोकिएको गोदावरी नगरपालिकाको प्रमुख ब्यापारीक केन्द्र अत्तरिया बजार सुदूरपश्चिका ९ वटै जिल्लालाई जोड्ने मुख्य केन्द्र बिन्दु पनि हो ।
राजधानी तोकिएको बजार क्षेत्र सफा , सुन्दर र ब्यबस्थित हुनुपर्ने भएपनि अत्तरिया बजारको सुन्दरता झन झन खस्किदो अबस्थामा रहेको छ । हिउँद समय होस वा बर्खा समान्य बर्षा हुदाँ पनि बजार क्षेत्र डुवानमा पर्ने गर्दछ । यसको प्रमुख कारण बजार क्षेत्रमा रहेका सडक नालीको ब्यबस्थापन नहुनु रहेको ब्यापारीहरु बताउँदछन् ।
बजार क्षेत्र आसापास निर्माण गरिएको सडक नालीको लामो समयदेखी मर्मत सम्भार नहुदा अहिले भताभुङ भएका छन् । सडक किनारमा बनाइएका नाला माथिका ढक्कन फुटेर टुक्रा टुक्रा भएको लामो मसय हुदा पनि सम्बन्धित निकायले मर्मतसम्भारमा ध्यान नदिदा नाली भताभुङ भएका हुन् ।यसले गर्दा एकातिर बजार क्षेत्रको सुन्दरता कुरुप बन्दै गएको छ भने अर्को तिर दुर्घटनाको जोखिम निकै बढेको छ । बजारका मुख्य सडक किनारमा रहेको नालामाथि बनाइएको ढक्कन वर्षौदेखि फुटेर ठाउँ ठाउँमा ठूल्ठूला प्वाल परेको स्थानीयको गुनासो छ । नालामाथि लगाएका ढक्कनहरु फुटेर जताततै फोहोर फैलिएको छ ।
नालीको अबस्था नाजुक हुदा पनि सम्बन्धित निकायको ध्यान जान नसक्दा ठूलो दुर्घटना हुने सक्ने सम्भावना रहेको गोदावरी होटल ब्यबसायी संघकी अध्यक्ष धन चोखालले बताइन् । उनले दिउसो त जसोतसो बच्न सकिने भएपनि रातिको समयमा सर्वसाधारण यात्रु देखी बजार क्षेत्रमा आवतजावत गर्ने साना तथा ठूला सवारी साधनहरु कति बेला नालामा खस्छन् भन्ने डर रहेको बताइन् ।अत्तरिया बसपार्क देखी मुख्य चोक शौचालय सम्मको नालीको अबस्था झनै नाजुक रहेकाले आसपासका होटल ब्यबसायीहरुले निकै हैरानी खेपिरहेको उनको भनाई छ ।
'पुराना नालीहरु ब्नेदेखी न सरसफाई गरिएको छ न त फुटेका ढक्कनहरु परिर्वतन गरिएका छन्' उनले भनिन् - 'यसले गर्दा भित्रका पानी ओहोरदोहोर नहुदा भित्रको फोहोरसंगै दुषित पानीले निकै दुर्गन्ध फैलिएको छ , त्यो आसापास हिड्दा नाक थुनेर हिड्नुपर्ने अबस्था रहेको छ ।'
यस्तै अत्तरिया बजारमा अटो चलाइरहेका एक जना अटो चालक रमेश बिष्टले बजार क्षेत्र नाली निर्माण गरिपनि त्यसको मर्मत सम्भार तथा सफसफाई नहुदाँ नाली फुटेर सडकमा दुर्घन्ध फैलिरहेको बताए । उनले अहिले बिभिन्न खाले नयाँ नयाँ रोगहरु आइरहेका बेला यसरी नगरबासीको स्वास्थ्यमाथि नै असर पर्ने खालको समस्या समाधानमा सम्बन्धित निकाय नगरपालिका ,सडक बिभागले ध्यान दिनुपर्ने बताए ।
बर्षायतका बेला नाली भित्रको भरिएको पानी ओहोरदोहर हुन नपाउँदा नाली फुटेर सडकमै दुषित पानी भरिएको छ । बजारको मुख्य चोककै पूर्वपट्टि त झन एक बर्षदेखी तालनै बनेको छ । अहिले त्यस ठाउँमा मानिसहरुको आवतजावत नै बन्द भएको छ । जीर्ण अबस्थामा रहेका नाला माथिका ढक्कन सबै फुटेर भताभुङ्ग भएपछि छाडा चौपाया धेरै पटक नालामा खस्दा कतिपय चौपाया घाइते भएका छन् भने कतिको मृत्यु समेत भएको छ ।जनप्रतिनिधिहरु आइसकेपश्चात नगरले नयाँ रुप लिनेमा आशामा रहेका गोदावरी नगरबासी अहिले निराश बनेका छन् । बजार क्षेत्रका ब्यापारीहरु दिक्क भैसकेका छन् । उता गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायतले अहिले अत्तरिया बजारको मुख्य समस्या नै ढल निकास र नालीहरुको ब्यबस्थापन रहेको बताइन् ।
उनले यसका लागि नगरपालिकाले गत बर्ष पनि बजेट छुट्याएको भएपनि बिबिध कारण काम हुन नसकेको र यस बर्ष पनि बजेट बिनियोजन गरिएको बताइन् । अहिले गाउँघरमा पनि ढल निकास सहितको बाटो निर्माण भैरहेको र बजार क्षेत्रमा पनि प्रदेश र संघिय सरकारको समन्ब्यमा चाडै यस समस्याको सामाधन गर्ने तर्फ नगरपालिकाले सोचिरहेको बताइन् ।
'नालीको उचित ब्यबस्थापन नहुदा बजार क्षेत्रको सुन्दरता हराउनुका साथै दुर्घटनाको जोखिम बढेको कुरा सबैलाई अबगत छ , मैले बारम्बार कार्यपालिका बैठकमा पनि यस बिषयमा कुरा उठाएकी छु' उनले भनिन् - 'बजार क्षेत्र नगरपालिका वडा नं १ र २ मा पर्ने हुदाँ वडामा पनि ढल निकासको योजना थुप्रै रहेकाले यस तर्फ वडाका जनप्रतिनिधिहरुले पनि गम्भिर भएर लाग्नुपर्छ ।'
अत्तरिया धनगढी ६ लेन सडकले गर्दा पनि काम गर्न समस्या भएकाले अब सडक डिभिजनसंग सहकार्य गर्दै चाडै यसको ब्यबस्थापनामा नगरपालिकाले काम अगाडी बढाउने उनको भनाई छ ।