अत्तरिया - सुदूरपश्चिमका ८८ ओटा स्थानिय तहमध्ये सबै भन्दा बढी कोरोना संक्रमित फेला परेको कैलालीको गोदावरी नगरपालिकामा भारतवाट आउने क्रम जारी रहेको छ ।
सुरुका दिनहरुमा सयौको संख्यामा मानिसहरु नगरपालिकामा भित्रिएको यस नगरपालिका भित्र अहिले पनि दैनिक ५÷६ जना भित्रिरहेका छन् । तर भारतवाट आउनेहरु अहिले सिधै आ आफ्नो घर जान थालेका छन् ।
सुरुका दिनहरुमा भारतवाट फर्किनेहरुलाई नगरपालिकाले वडा वडाका रहेका बिधालयहरुमा स्थापना गरेको क्वारेन्टाईनमा १४ दिन राखेर चेकजाचँ गरेर पठाउने गरेपनि अहिले भने क्वारेन्टाइन सबै खाली गरिएको छ । कुनै ट्राभल हिष्ट्री नभएका स्थानियहरुमा पनि कोरोना संक्रमण देखिरहेका बेला दिनकै हजारौ जनाका कारोना संक्रमण देखिरहेको छिमेकी देश भारतवाट आउनेहरु सिधै घर जान थालेपछि समुदायमा झन भयावह अबस्था आउन सक्ने देखिएको छ ।
भारतवाट आएर घर गएकाहरुको कोरोना परिक्षणका भने ढिलाई हुन थालेको छ । भारतका बिभिन्न शहरहरुवाट आएको २०÷२५ दिन पुगिसकेकाहरु आफ्नो परिक्षण कहिले हुन्छ , काहाँ गर्ने , कसले गर्छ भन्नेमा बारेमा उनीहरु अन्यौलमा रहेका छन् । गोदावरी नगरपालिका वडा नं २ का भिम बहादुर बि.कको परिवारलाई भारतवाट आएको २० दिन पुरा भएको छ ।
तर उनीहरुको अहिले सम्म परिक्षण हुन सकेको छैन । उनी भारतवाट आएदेखी आफ्नो घरमा अन्य परिवारका सदस्यवाट छुट्टै बस्दै आएका छन् । उनले आफुलाई अहिले सम्म त्यस्तो कुनै लक्षण नदेखिपनि परिक्षण गर्न पाए ढुक्क हुने र कहिले परिक्षण हुन्छ भन्दै परिक्षणका लागि जनप्रतिनिधिहरुलाई आग्रह गर्दै आएका छन् ।
'हामी आएको २० दिन भैसकेको अहिले सम्म कसैको सम्पर्कमा गएका छैनौ र त्यस्तो कुनै लक्षण पनि देखिएको छैन' उनले भने - 'तर पनि मनमा एक प्रकारको डर त्रास त रहिरहने भयो , त्यस कारण एक पटक चेक गर्न पाए ढुक्क भइन्थ्यो कि भन्ने हो ।'
अहिले धेरैले आफ्नो परिक्षण काहाँ र कसले गर्छ भन्ने बारेमा अन्यौल हुदा चिन्तित भएका छन् । उता गोदावरी नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिर बहादुर कुबरले अहिले पनि दैनिक जसो ५÷६ जना भारतवाट आइरहेको बताए । सरकारले बिधालयमा बनाइएको क्वारेन्टाइनहरु खाली गर्न भनेपछि राख्ने ठाउँ नहुदा अहिले आएकाहरुलाई १४ दिन सेल्फ आइसोलेसनमा बस्ने गरि घर पठाइरहेको बताए ।
भारतवाट आएर घर गएका सबैको अनिवार्य कोरोना परिक्षण भैरहेको उनले बताए । 'हामीले भारतवाट आएर १४ दिन पुरा भैसकेका सबैका परिक्षण गरिरहेका छौ , जसका लागि भारतवाट आएकाहरुले आफ्नो वडाका वडा अध्यक्षलाई यसबारे जानकारी गराउनुपर्नेछ' उनले भने - 'सम्बन्धित वडाका वडा अध्यक्षले सबैको नामलिष्ट तयार पारेर नगरपालिकामा उपलब्ध गराएपछि त्यसैको आधारमा परिक्षण भैरहेको छ ।'