महेन्द्रनगर -कञ्चनपुरको मझगाउँ विमानस्थल संचालनको माग राख्दै स्थानीयले संघर्ष समिति बनाएका छन् । वि.सं. ०५६ सालमा असुरक्षाको कारण देखाउँदै बन्द भएको भीमदत्त नगरपालिका १६ मझगाउँमा रहेको विमानस्थल पुनः संचालनको माग राख्दै संघर्ष समिति बनाएका हुन् । पूर्व वन अधिकृत रमेश चन्दको संयोजकत्वमा मझगाँउ विमानस्थल संघर्ष समिति गठन गरिएको छ ।
समितिको सह–संयोजक तिलक दत्त भट्ट, सञ्चार संयोजक ज्ञानेन्द्र महता, व्यवस्थापन संयोजक करन पाल, सचिव राजेन्द्रबहादुर चन्द, सह–सचिव ईन्द्र भट्ट, सदस्य अम्बादत्त तिवारी, लोकराज भट्ट, सिद्धराज भट्ट, नरेन्द्र भाट, चन्द्रदेव बडू, देवराज जोशी, सावित्री भट्ट, राजेन्द्र गिरी, विरेन्द्र विसी रहेका छन् ।संघर्ष समितिले पुनः संचालनका लागि पहल गर्ने जनाएको छ । मझगाँउ विमानस्थल संघर्ष समितिका व्यवस्थापक संयोजक करन सिंह पालले विमानस्थल संचालन गर्न पत्रकारदेखि राजनीतिक दलसँग भेटघाट तथा परामर्श गरिने बताए ।
उनका अनुसार पत्रकार, जनप्रतिनिधी, सरकारी निकायका प्रतिनिधी एव राजनीतिक दलसँग भेटघाट गरेर संचालनका लागि दवाव सिर्जना गरिने छ । पुनः संचालन नहुँदा यात्रुलाई धनगढी र नेपालगन्ज गएर जहाज चढ्नुपर्ने बाध्यता छ । महेन्द्रनगरदेखि झण्डै साढे ५३ किलोमिटर दुरीमा रहेको धनगढी विमान स्थल चढ्नका लागि दैनिक ५० देखि ७० को हाराहारीमा कञ्चनपुरबाट यात्रु जाने गरेका छन् ।
लामो सयमदेखि दुई किलोमिटर धावन मार्गसमेत रहेको झण्डै ५३ विगाह क्षेत्रफलमा रहेको विमानस्थल संचालन नहुँदा गौचरणमा परिणत भएको छ । समितिका सदस्य अम्बादत्त तिवारीले सबै क्षेत्रसँग समन्वय गरेर बन्द रहेको विमानस्थल संचालन गरिने बताए ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले बन्द रहेको मझगाउँ विमानस्थल सञ्चालनका लागि प्रदेश र संघ सरकारसँग छलफल भइरहेको बताए । उनले पुन संचालनका लागि नगरपालिकाले पहल गरिरहेको बताए ।