दार्चुला - जिल्लाका यर्सा व्यापारी र संकलकहरु समस्यामा परेका छन । गत वर्ष संकलन गरिएको करिब डेढ क्विन्टल यार्सा बिक्री हुन नसक्दा यर्सा व्यापारी र संकलकहरु समस्यामा परेका हुन् । जिल्लाका स्थानियहरुको मुख्य आम्दानीको मुख्यस्रोत मानिएको यार्सा अहिले सम्म विक्री हुन नसक्दा यस वर्षको संकलनमा समेत प्रभाव पर्ने देखिएको छ । व्यापारीहरूले स्थानीय संकलकहरूबाट गत बर्ष खरिद गरेको यार्साको सहि मूल्य नपाउँदा अहिले सम्म बिक्री नभएको हो ।
नेपालमा संकलन भएको यार्सा चीनका व्यापारीले निर्यात गर्ने मूल्यमा धेरै घटी भएको व्यापारीहरू बताउछन् । स्थानीय संकलकहरूबाट खरिद गरेको मूल्यभन्दा चिनिया व्यापारीहरूले यार्सामा कम मूल्य भन्न थालेपछि बिक्री रोकिएको यर्सा व्यापारी झुनसिंह कुँवरले बताए । जिल्लाका साना ठूला सबै व्यापारीहरूको करिब २५ करोड रुपैया बराबरको यार्साले मूल्य नपाउँदा काठमाडौं र जिल्लामै थन्किएको उनले जानकारी दिए । धेरै व्यापारीले गत असारदेखि भदौसम्म खरिद गरिएकोमध्ये डेढ क्विन्टल बढी यार्सा अझै बिक्री हुन बाँकी रहेको छ । ‘स्थानीयबाट खरिद गरेको मूल्यभन्दा अहिले ४० प्रतिशत यार्सा घटेको ब्यापारीहरुको भनाई रहेको छ ।
संकलकबाट प्रतिकेजी यार्साको १६ ,१७ लाख रुपैयाँ दिने कबुल गरी खरिद गरिएको एक ब्यापारी राजेन्द्र बडूले बताए । उनले अहिले बजारमा प्रतिकिलो १० लाख रुपैयासम्म पनि यार्सा बिक्री नभएको बताए । दोस्रो सिजन सुरु हुँदासम्म पहिलेको यार्सा बिक्री नहुँदा संकलकहरूलाई लेक जाने सामानको जोहो गर्न अप्ठ्यारो भएको ब्यापारी बडूको भनाई छ । दार्चुलावाट यार्सा खरिद गरी काठमाडौ गएका अधिकांश व्यापारी उचित मूल्य नपाउँदा निराश भएर फर्किन बाध्य छन । गत वर्ष संकलन गरिएको दार्चुला र बझाङको मात्र करिब १ अर्ब मूल्य बराबरको यार्साले मूल्य नपाएको ब्यापारीहरुको गुनासो रहेको छ ।
अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका अनुसार हालसम्म जिल्लाबाट ५ सय ५५ किलो यार्सा निकासी गरिएको छ । कार्यालयले यो वर्ष यार्सा व्यवस्थापन (संकलन तथा ओसारपसार) निर्दे्िशका २०७३ अनुसार ८ सय २० क्विन्टल निकासी गर्न सकिने उल्लेख गरेको छ । हरेक वर्ष जिल्लाबाट ६ देखि ८ क्विन्टल बढी यार्सा निकासी हुने गरेको छ । कार्यालयले यो वर्ष यार्साको निकासीबापत १ करोड ६३ लाख ५० हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
दार्चुलाका अपी हिमाल, व्यास, दुहु नौगाड गाउँपालिकाका अधिकांश बासिन्दाको आम्दानीको स्रोतको रुपमा यार्सा र जडीबुटी रहेको छ । लोलु, अपी फेद, सतगंगा, फुल्टेवन, घट्टेखोला, चाइमटेला, धरमघर, क्षति, नाम्पा, दोपाखे, दुम्लिङलगायत पाटनमा यार्सा पाइने गरेको छ ।