अत्तरिया - सुदूरपश्चिममा जटिल समस्याका रुपमा देखा परेको छाडापशु चौपायाका कारण स्थानियहरु धेरै नोक्सानी ब्यहोरिहेका छन् । स्थानिय तहमा जनप्रतिनिधिहरु आइसकेपश्चात अब त समस्या समाधान हुन्छ भन्नेमा विश्वस्त रहेका प्रदेशबासीको पिडा भने जस्ताको त्यस्तै रहेको छ । बिशेष गरेर तराईका दुई जिल्ला कैलाली कञ्चनपुरमा अझ बढी बिकराल समस्याका रुपमा देखिएका छाडापशु चौपायको ब्यबस्थापनमा स्थानिय र प्रदेश सरकारले ध्यान नदिएएका त होइन् ।
तर छाडापशु चौपायको उचित ब्यबस्थापनका लागि ब्यबस्थित र योजनाबद्ध ढंगले काम गर्न नसक्दा स्थानिय र प्रदेश सरकारको लगानी बालुवामा पानी हालेजस्तै भएको छ । बिगत ४ बर्ष देखि जटिल समस्या रुपमा देखा परेका छाडाचौपायहरु अहिले पनि बजार क्षेत्रका बिच सडक र किसानहरुका खेतमा पुगेर नोक्सानी गरिरहेका छन् ।
छाडाचौपायकै कारण कतिले अकालमै ज्यान गुमाएका छन् भने कति अहिले पनि घाईते रहेका छन् । छाडापशु चौपायका कारण सुदूरपश्चिमभरि एक बर्षमा १५ सवारी साधनहरु दुर्घटनामा परेका छन् । जसमा २ जनाले ज्यान गुमाएका छन् भने १७ जना घाईते भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
छाडाचौपायाका कारण गत आर्थिक बर्ष २०७६÷७७ मा १० सवारी दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । यस्तै चालु आर्थिक बर्षको साउन महिनामा ५ सवारी दुर्घटना हुदा १ जनाको मृत्यु र ८ जना घाईते भएका छन् । यसैबिच यो बिचमा सवारी दुर्घटनामा परी ११ चौपायाको पनि मृत्यु भएको छ भने ४ चौपाया घाईते भएका छन् ।
गत आर्थिक बर्ष २०७६÷७७ मा ७ चौपायाको मृत्यु र ३ घाईते भएका थिए भने चालु आर्थिक बर्षको एक महिनामा ४ को मृत्यु र १ चौपाया घाईते भएका छन् । एकातिर किसानहरुको बर्षभरि खाने अन्नलाई खाएर सखाप भैरहेको छ भने अर्को तिर सर्वसाधारणहरुले अकालमै ज्यान गुमाउनुपरिरहेका छ । रातिको समयमा सडककै नदेखिने गरि बिच सडकमा बस्ने छाडाचौपायाका कारण सवारी चलाउदा ज्यान नै जोखिममा राखेर चलाउनुपर्ने सवारी चालकहरु बताउदछन् ।
केही दिन पहिले देखी अत्तरिया क्षेत्रमा रहेका छाडा गाईगोरुको घाँटीमा रिफ्लेटिभ स्टीकर लगाउने अभियान संचालन गरिएको छ । बजार क्षेत्रमा छाडा चौपाया बढिरहेको र रातिको समयमा सडकमै बस्ने छाडा चौपायाका कारण दुर्घटना बढ्न थालेको भन्दै चौपायाको घाँटीमा टाढैबाट चम्कन रिफ्लेटिभ स्टीकर लगाइएको मालाखेती इलाका प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टले बताए ।
रातिको समयमा सडकमा बसेका छाडा चौपायालाई सवारी चालकले टाढैबाट देखून् भन्ने उद्देश्यले घाँटीमा स्टीकर बाँधिएन थालेको उनले बताए । तर यो दिर्घकालिन समाधान नभएकाले नगरपालिकाले ठोस कदम चाल्नुपर्ने स्थानियहरुको माग छ ।