धनगढी - सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, प्राथमिकता तथा प्रमुख नीति माथि छलफल शुरु भएको छ । सुदूरपश्चिम प्रदेशको आज बसेको बैठकमा उक्त बिषयमा छलफल शुरु भएको हो ।
जेठ २ गते आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले आगामी आर्थिक बर्षको बजेटको सिद्धान्त, प्राथमिकता तथा प्रमुख नीति प्रदेश सभामा प्रस्तुत गर्नुभएको थियो । छलफलका क्रममा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटले कृषि, उद्योग लगाएत प्रादेशिक गौरवका आयोजनाहरूलाई विशेष प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
बैठकमा बोल्दै नेकपाका सचेतक अक्कल बहादुर रावलले आगामी आर्थिक बर्षमा सरकारले कृषि र उद्योगलाई प्राथमिकतामा राखेर बजेट बनाउनुपर्ने बताए । उनले अहिले पनि समान्तवादी र पुरातनवादी सोच हाबी हुँदै गएकाले अब कृषि, युवा र विकट क्षेत्रका नागरिकलाई लक्षित गरेर सरकारले बजेट ल्याउनुपर्ने धारणा राखे । नेकपाकै प्रदेश सदस्य बीरमान चौधरीले सरकारले कृषिलाई ब्यावसायिक बनाउने तर्फ बजेटलाई केन्द्रित गर्नुपर्ने बताए ।
उनले कृषिलाई आधुनिकिकरण गर्ने, ब्यवसायिकीकरण गर्ने नीति लिने, तर जमिनलाई खण्डीकरण हुन दिने कुरा परस्पर विरोधी हुने भएकोेले कृषिलाई आधुनिकिकरण गर्न जमिनको खण्डीकरण रोकिनुपर्ने बताए । दुई चार बोट बाँडेर कृषि ब्यवसायिक हुन नसक्ने बताउदै नेकपाकै प्रदेश सांसद पूर्णा जोशीले ब्यवसायिक कृषिका लागि नीति बन्नु पर्नेमा जोड दिईन । प्रमुख प्रतिपक्षी दल नेपाली कांगे्रसका प्रदेश सांसद कर्ण बहादुर मल्लले चालू आर्थिक बर्षको विकास खर्च अत्यन्तै न्युन रहेको बताए ।
उनले पूर्व बजेट छलफलका लागि तयार पारिएको पत्रमा काम गर्ने भन्दा पनि उत्कृष्ट शब्द चयनमा बढी ध्यान केन्द्रित गरिएको भन्दै सरकारको आलोचना गरे । यस्तै आजको बैठकमा प्रादेशिक औद्योगिक ब्यवसाय सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सामान्य छलफल गरिएको छ । छलफलका क्रममा उठेका प्रश्नहरुको उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री माया भट्टले जवाफ दिएकी थिइन् ।