टीकापुर - कैलालीको टीकापुर ८ स्थित लालीगुराँस बाल क्लबमा सक्रिय एक १४ वर्षीया किशोरीको विवाह भयो। क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा खैलाबैला भयो। बालबालिका र किशोर किशोरीमा आइपर्ने समस्या समाधान र उनीहरुको विकासका लागि गठन भएको क्लबकै सदस्यले बालविवाह गरेपछि क्लबमा निकै तनाव भयो।
क्लबका अध्यक्ष महेश साउदले भने, ‘हामीले उनलाई निकै सम्झायौँ तर उनले अब माइती फर्कन नसक्ने बताइन्’, उनले भने, ‘उनका श्रीमान् पनि किशोर नै भएकाले हामीले सम्झाए पनि उनीहरुले मानेनन्।’ बालविवाह गरेपछि क्लबले उनलाई नत क्लबमा आउने वातावरण बनाउन सक्यो न त उनी विद्यालय नियमित जाने वातावरण बन्यो। ‘उनलाई क्लबमा बोलाइए अन्य साथीले पनि सिको गर्लान् की भन्ने डर लाग्यो।’ उनले भने।
कैलालीको भजनीस्थित कोपिला बाल क्बलमा सक्रिय १७ वर्षीया एक किशोरले गाउँकै १६ वर्षीया किशोरीसँग प्रेम विवाह गरे। क्बलकै सदस्यले विवाह गरेपछि त्यहाँ पनि हल्लाखल्ला भयो। उनीहरुले भागी विवाह गरेपछि क्लबका सचिव सरोज चौधरीले दुवै परिवारका अभिभावकलाई बोलाएर छलफल गरेको बताए। ‘हामीले दुवै जनाका अभिभावक बोलाएर पढाइलाई निरन्तरता दिन र २० वर्ष नपुगी सँगै नबस्न सल्लाह दियौँ’, चौधरीले भने, ‘हाल दुवैले अध्ययन गरिरहेका छन्। उनीहरु परिपक्क भएर विवाह गर्नेमा सहमत छन्।’
टीकापुरस्थित बाल सञ्जालका अध्यक्ष रतन टमट्टाका अनुसार समुदायमा बालविवाह त भइरहन्छन् तर क्लबमै सक्रिय सदस्यले विवाह गर्दा नकारात्मक सन्देश जान्छ। उनले भने, ‘बालबालिकालाई अभिभावकको निगरानी आवश्यक छ। उनीहरुलाई मोबाइल, इन्टरनेटजस्ता प्रविधिको गलत प्रयोग गर्नबाट बचाउनुपर्छ।’
कैलालीमा सयौँ बाल क्लब छन्। यी क्लबमा ११ वर्षदेखि १८ वर्ष मुनिका बालबालिका छन्। बालक्लबमा उनीहरु आफ्नै बचतले हाजिरीजवाफ, चित्रकला, वक्तृत्वकला, खेलकूद प्रतियोगिताजस्ता कार्यक्रम गर्छन्। क्लबमा उनीहरु बालबालिकाका समस्या र किशोरकिशोरीमा देखिने समस्याबारे पनि छलफल गर्छन्।
स्वयंसेविका देवसरा साउद आफूहरुले पनि बालविवाह न्यूनीकरणका लागि स्वास्थ्य आमा समूहमा छलफल गर्ने गरेको बताइन्, ‘छाउपडी र बालविवाह रोक्नका लागि छलफल गर्छौँतर हाम्रै एक स्वयंसेविकाकै नातिनीले उमेर नपुगेरै विवाह गरिन्। आफैँ स्वयंसेविका भएर पनि नातिनीलाई घर फर्काउन सकिएन’, उनले भनिन्, ‘यहाँका धेरै किशोरी विवाह गरेर भारत जाने गर्छन्, एक दुई वर्षपछि बच्चा बोकेर फर्कन्छन्, अनि कसरी रोक्नुरु’ सीतापुरस्थित जनजागृति उच्च माविकी शिक्षिका उर्मिला रावलले कक्षा ९ र १० मा पढ्ने बालबालिकाले प्रेम विवाह गर्ने गरेको बताइन्। ‘हरेक वर्ष पाँच जना जति किशोरकिशोरी बालविवाहकै कारण विद्यालय छोडछन्। यसलाई रोक्न निकै कठिन छ।’
उमेर नपुगेरै कति जनाको बालविवाह हुन्छ भन्ने तथ्याङ्क त कसैसँग छैन तर किशोरी आमा बन्नेको तथ्याङ्क हेर्दा अहिले पनि टीकापुर नगरपालिकामा १७ प्रतिशत आमा २० वर्ष मुनिका छन्।
नगरपालिकाका स्वास्थ्य संस्थामा चालू वर्षको चैतसम्म ५ सय ९६ ले सुत्केरी सेवा लिएकामा ८९ किशोरी आमा छन्। ‘टीकापुर अस्पतालमा नियमित चार पटक गर्भजाँच गर्ने १५ प्रतिशत २० वर्ष मुनिका आमा छन् भने सुत्केरी हुने १७ प्रतिशत छन्।’ स्वास्थ्य प्रवर्द्धन शाखाका संयोजक बलबहादुर रावलले भने, ‘यसले बालविवाह अझ बढेको भन्ने देखाउँछ।’ टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘बालविवाह पनि गलत अभ्यास हो, यसलाई न्यूनीकरण गर्न सबैले साथ दिनुपर्छ तर हामीले मात्र चाहेर पनि बालविवाह रोक्न नसकेकाले कानुन कार्यान्वयनका लागि सबैभन्दा पहिले अभिभावक सचेत बन्नुपर्छ।’
बालविवाह न्यूनीकरणका लागि किशोर–किशोरी मैत्री स्वास्थ्य कार्यक्रम, विद्यालयमा साथी शिक्षा कार्यक्रम लागु गरिएको उनले जानकारी दिए।
रासस