धनगढी-सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सरकारको आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेटको सिद्धान्त तथा प्राथमिकता संसदमा प्रस्तुत गरेका छन् ।
प्रदेश सभाको बिहीवार बसेको बैठकमा मन्त्री बोहराले सो करबाहेकको विनियोजन विधेयक अन्तर्गतको ५६ बुँदे बजेटको सिद्धान्त तथा प्राथमिकता प्रस्तुत गरेका हुन् । मन्त्री बोहराले आगामी आर्थिक बर्षको बिनियोजन विधेयक नेपालको संविधानमा उल्लेखित मौलक हकको प्रभावकारी कार्यान्वयन गर्ने दिशामा निर्देशित रहने बताए ।
सभाको विशेष समयमा बोल्दै मन्त्री बोहराले १० बुँदे बजेटका मुख्य उद्देश्यहरू प्रस्तुत गरे । उनले आगामी बजेट समाजवाद उन्मुख रहने बताए । त्यस्तै कृषिमा आत्मनिर्भरता हासिल गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने, दिगो आर्थिक विकास गर्ने, पिछडिएको वर्गलाई सामाजिक न्यायसहित सुरक्षा प्रदान गर्ने उदेश्यसे बजेट ल्याइने बताए ।
प्रदेशका नागरिकहरूको सुरक्षा प्रदान गर्ने, बेरोजगारी अन्त्य गर्ने, आयात प्रतिस्थापन गर्ने, उच्च शिक्षालाई प्राथमिकता दिने उद्देश्यले पनि बजेट आउने मन्त्री बोहराको भनाइ थियो ।
शिक्षा, स्वास्थ्य तथा मानव विकास सूचकांकमा समेत पछि परेका बाजुरा, बझाङ। अछाम र दार्चुलामा जिल्लामा सञ्चालन हुने कार्यक्रमका लागि प्राथमिकताका साथ बजेट बिनियोजन गरिने समेत मन्त्री बोहराले बताए । अब प्रदेश सभामा पूर्व बजेट छलफल जेठ ६ गतेदेखि शुरु हुने सभामुख अर्जुन बहादुर थापाले प्रदेश सभालाई जानकारी दिएका छन् ।