धनगढी-मर्मत कार्य भैरहेको धनगढी विमानस्थलको बिहीबार धनगढी उप–महानगरपालिकाका प्रमुख, प्रमुख जिल्ला अधिकारी र कैलाली उद्योग बाणिज्य संघका प्रतिनिधीहरुको टोलीले अनुगमन गरेको छ ।अनुगमन टोलीले निर्धारीत समय भित्रै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन समेत दिएको छ ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले निर्धारीत समय भित्र काम सम्पन्न गर्नका लागि स्थानीय सरकार र स्थानीय प्रशासनले गर्नुपर्ने सहजिकरणका लागि तयार रहेको बताए । 'हाम्रो तहबाट गर्नुपर्ने कुनै सहयोग छ भने निर्माण कम्पनीले भन्नु प¥यो,' नगरप्रमुख वडले भने- 'तर निर्धारीत समय भित्र गुणस्तरको काम भएको हुनुपर्छ।' नगरप्रमुख वडले निर्माण कम्पनी निर्धारीत समयमा नै काम गर्ने प्रतिवद्धता जनाएको बताए ।
कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले मर्मतमा आस लाग्दो प्रगती देखिएको बताए । 'निर्माण कम्पनीले श्रोत साधन प्रयोग गरेर मर्मतलाई गती दिएको पाईयो ,'निमित्त प्रमुख जिल्ला अधिकारी जोशीले भने- 'समयमा मर्मत सम्पन्न गर्नका लागि स्थानीय प्रशासन सबै किसिमले सहयोग गर्न तयार छ ।' धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले काम समयमै सम्पन्न गर्नका लागि अनुगमनलाई निरन्तरता दिनुपर्ने बताए । उनले भने- निर्माण कम्पनीले समयमै काम पुरा गर्नुपर्छ ।
कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले हवाई सेवा रोकिदा यस क्षेत्रको ब्यापारमा घाटा भएको बताए । समयमै मर्मत कार्य पुरा गर्नका लागि सबै क्षेत्रको दवाव आवश्यक रहेको पनि ओझाले बताए ।बैशाख २२ गते देखि धावनमार्ग मर्मत भैरहेको छ । यसको अवधी जेठ २१ गते सम्म रहेको छ । धनगढी त्रिभुवन विमानस्थल पछिको ठुलो धावनमार्ग हो ।
अहिले धावन मार्ग मर्मत र पाकिङ्ग क्षेत्र विस्तार गरिने काम भैरहेको छ ।अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईको कालोपत्रे धावनमार्ग रहेकोमा धावनमार्ग स्तरबृद्धिसंगै दुवैतर्फ २÷२ मिटर फराकिलो बनाउने योजना समेत रहेको छ । यस्तै अहिले ३ वटा जहाज पाकिङ्ग व्यवस्था रहेकोमा अव थप एक जहाज पार्कीङ गर्न सक्ने गरि पार्किङ क्षेत्र विस्तारको योजना छ । एप्रोच लाईट र अन्य लाईटहरु थप, सञ्चार उपकरण वृद्धि, लगायतका सेवा थप र विस्तारको योजना पनि छ ।