डोटी - डोटीमा बालविवाह बढ्दै गएका छन । जिल्लाको दिपायल सिलगढी नगरपालिका–८ लडागडामा गएको तीन वर्षको अवधिमा १६३ बालविवाह भएको एक संस्थाको तथ्याङ्कले देखाएको छ । जिल्लामा लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास केन्द्र (सिडिसी) नामक संस्थाले तीन वर्षदेखि गरेको सर्वेक्षणअनुसार यति ठूलो सङ्ख्यामा बालविवाह भएको पाइएको हो ।
उक्त संस्थाले सार्वजनिक गरेको तथ्याङ्कमा विसं २०७३ मा ३८, २०७४ मा ५६ र २०७५ मा ६९ को बालविवाह भएको छ । त्यस्तै विसं २०७३ वैशाखदेखि २०७५ चैत मसान्तसम्म १३३ बालिका र २७ बालकको बालविवाह भएको सामुदायिक विकास परियोजनाका जिल्ला संयोजक एकराज बडूले जानकारी दिनुभयो । विवाह गर्ने १४ देखि १९ वर्षका धेरै छन ।
यसरी पुण्यका नाममा बालविवाह गर्नेमा जनजाति ५, दलित ६०, क्षेत्री समुदायमा ९८ रहेको उक्त संस्थाले गरेको अनुसन्धानमा देखिएको छ । उक्त वडामा हालसम्म परिवारको दवाबले ३१, मोबाइल तथा इन्टरनेटको प्रयोगले ३३, गरीबीले १, राम्रो घर परिवार पाउँदा ७, चाँडो विवाह गर्ने मान्यतामा ५, मेला पर्वमा १, भविष्य राम्रो हुने आशामा १, र अन्य ८० गरी जम्मा १६३ को विवाह भएको पाइएको जिल्ला संयोजक बडूले बताए ।
बालविवाह गर्नेको जिल्लाभरिको सर्वेक्षण गर्ने हो भने करीब एक हजारभन्दा बढी तथ्याङ्क निस्किन सक्ने दिपायलका स्थानीय सर्वजीत देउवाले बताउनुभयो । जिल्लामा बालविवाह र बालश्रमिक अन्त्यका लागि दिपायल सिलगढी नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आए पनि आफ्नो नगरपालिकामा बालविवाह रोक्न सकेको छैन।
नगरपालिका प्रमुख मञ्जु मलासीले बालविवाह र बालश्रमिक राख्ने विरुद्ध कडारूपमा उत्रिने बताउनुभयो । प्रमुख मलासीले नगरपालिकाले बालविवाह र बालश्रम अन्त्यका लागि विभिन्न काम गर्दै आएको र बालश्रम राख्ने र बालविवाह गर्नेलाई कानूनी दायरामा ल्यायर कारबाही गर्ने दाबी गर्नुभयो । रासस