अत्तरिया - सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको अत्तरिया सहित यहाँका बिभिन्न गाउँहरुमा लकडाउनको उल्लंघन बढ्दै गईरहेको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले २ महिना देखी जारी राखेको लकडाउनको पछिल्लो समयमा उल्लंघन बढ्दै गईरहेको हो ।
सुरुका दिनहरुमा निकै कडाईका साथ लागु भएको लकडाउन पछिल्लो समयमा भने स्थानियहरुले बेवास्था गर्दै आइरहेका छन् । अहिले गाउँघर रहेका धेरै जसो पसलहरु खुल्लो रहेको , ठूलो संख्यामा मानिसहरु एक ठाउँमा जम्मा भएर गफगाफ गर्ने , जुवातास खेल्ने जस्ता कार्य भैरहेको हुदा गाउँघरमा कोरोनाको जाखिम बढ्दो रहेकालाई प्रहरी प्रशासनलाई निगरानी बढाउन स्थानियहरुले माग गरेका छन् ।
गोदावरी नगरपालिका वडा नं ६ का युवा राज भट्टले गाउँमा लकडाउन छ कि छैन भन्ने कुनै आभाष नभएको बताए । उनले सुरुका दुई चार दिन लकडाउनको निकै पालना भएको र प्रहरीले पनि निरन्तर निगरानी गरेपनि अहिले भने लकडाउनको ब्यापक उल्लंघन भैरहेको जानकारी दिए । कोरोनाका संक्रमितहरु बढ्दै गएको अबस्था झन लकडानमा कडाई गर्नुपर्ने भएपनि अहिले लालपुर लगाएत आसपासका गाउँहरुमा मानिसहरु निर्वाध रुपमा आवत जावत गरिरहेकाले कोरोनाको जाखिम समेत बढेको बताए ।
गैरनदी टोल विकाश तथा सुधार समितीका सचिब समेत रहेका भट्टले अहिले गाउँघरमा लकडाउनको चासो नदिई मोटसाईकल , ट्रयाक्टर , अटोरिक्सा लगाएतका सवारी साधनहरु निर्वाध रुपमा चलिरहेकाले प्रहरी प्रशासनले यसलाई तुरुन्त रोक्नुपर्ने माग राखेका छन् । अत्तरियावाट १४ किलोमिटरको दुरीमा मात्रै रहेको धनगढीमा पहिलो पटक कोरोना संक्रमित भेटिदा निकै त्रसित भएका यहाँका स्थानियहरु अहिले सबै संक्रमित निको भएर घर फर्किएपछि कोरोना हटेको जस्तै गरी लकडाउनको बेवास्था गरिरहेका छन् ।
कोरोनाको निकै जोखिममा रहेको गोदावरी ११ ओलानीमा पनि लकडाउन भए नभएको कुनै आभाष नभएको स्थानिय बिष्णु बडैलाले जानकारी दिए । उनले सुरुका दिनहरुमा प्रहरी प्रशासनले केही सक्रियता बढाएपनि अहिले भने प्रहरी प्रशासन र जनप्रतिनिधिहरु सबै मुखदर्शक जस्तै बनेको बताए । उनले गाउँमा युवाहरुको टिम लकडाउनको पालाना गराउन खटिरहेको र यस तर्फ प्रहरी प्रशासन र जनप्रतिनिधिहरुको बिषेश ध्यान जानुपर्ने बताए । सरकारले कोरोनावाट बच्नका लागि सुरुमा चैत्र ११ गते देखी लकडाउन गरेको थियो ।
त्यसपछि बिभिन्न समयमा बढाउदै हिजो मात्रै फेरि १५ दिनका लागि लकडाउन थप गर्ने सरकारले निर्णय गरिसकेको छ । जति जति लकडाउन बढ्दै गयो त्यति नै उल्लंघन हुने क्रम पनि बढिरहेको छ । यता ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी प्रमुख डिएसपी ज्ञान बहादुर बिष्टले भने यस तर्फ आफुहरु निरन्तर लागि रहेको बताए ।
उनले सबै भन्दा पहिले लकडाउन अरुका लागि नभई आफ्नै लागि हो भनेर आमसर्वसाधारणले बुझ्न जरुरी रहेको बताए । उनले अहिले माइकिङ गर्ने , बजारमा जथाभावी हिडडुल गर्नेहरुलाई कारबाही गर्दै सम्झाई बुझाई गरि छोडिरहेको बताए । 'हामी आफ्नो तर्फवाट निरन्तर लागि रहेका छौ' उनले भने - 'नगरपालिकाले दिएको गाडी चौबिसै घण्टा गोदावरी नगरपालिकाका बिभिन्न वडामा दौडाइरहेका छौ ।'