अत्तरिया – कोराना भाईरसको जोखिमबाट बच्नका लागि सरकारले लकडाउन गरेपछि त्यसको कार्यान्वयनका लागि प्रहरी भने सडकमै खटिएका छ्न् । लकडाउन कार्यान्वयन संगै कोरोनाको जोखिमबाट बचाउनका लागि प्रहरीले कोरोना संक्रमण देखिएको क्षेत्र सिल गर्ने, सडकमा अनावश्यक रुपमा हिडेकाहरुलाई रोक्ने, कुनै ठाउँमा भिडभाड भए त्यसलाई हटाउने लगायतका काम प्रहरीले नै गरिरहेका छन । यसरी कोराना रोकथामका लागि खटिएका प्रहरी कोरोना संक्रमित हुन सक्ने जोखिम बढी छ ।
तर जोखिममा हुँदा हुँदै पनि प्रहरीको कोरोना परिक्षण भने खासै हुने गरेको छैन । सीमामा खटिएका प्रहरी बाहेक अन्य जोखिमपूर्ण क्षेत्रमा खटिएका प्रहरीको कोरोना परिक्षण हुन सकेको छैन । पछिल्लो समय सरकारले कोरोना परिक्षणको गति निकै घटाएको छ । सुदूरपश्चिममा पनि दैनिक १ सय देखि डेढ सयको हाराहारीमा मात्रै कोरोना परिक्षण भईरहेको छ । जसले गर्दा कोराना संक्रमण कुनै ठाउँमा फैलिरहेको भए त्यसले भयावह रुप लिन सक्ने देखिन्छ ।
परिक्षण दायरा घटाएको सरकारले यता अत्तरियामा पनि दैनिक दर्जनौ मानिसको सम्पर्कमा आईरहेका प्रहरीको पनि कोरोना परिक्षण गरेको छैन । सुदूरपश्चिम प्रदेशको केन्द्रमा रहेको अत्तरियाबाट अन्य ठाउँबाट उद्दार गरीएका मानिसहरु ओहोर दोहोर गरिरहने भएकाले पनि यो क्षेत्र बढी जोखिममा छ । त्यस्तै अत्तरियामै सुदूरपश्चिम प्रदेशको क्वारेन्टाईन ट्रान्जिट पोईन्ट पनि निर्माण गरिएकाले यहाँ बाहिरबाट सयौं मानिस ओहोर–दोहोर गरिरहेका छन ।
यसरी बढी मानिसहरुको ओहोर–दोहोर हुने क्षेत्रमा मानिसहरुको व्यवस्थापन गर्न खटिएका प्रहरीको भने एक–पटक पनि कोरोना परिक्षण नहुँदा जोखिम बढेको हो । भिडभाडमा हिड्ने अन्य व्यक्ती जस्तै प्रहरीको पनि नियमित कोरोना परिक्षण हुनु आवश्यक भएपनि त्यो हुन सकेको छैन । सरकारले संसद बैठक संचालन गर्दा कोरोना परिक्षण गरेर मात्रै संसद भित्र जान दिने बताईरहदा त्यो भन्दा बढी जोखिम युक्त क्षेत्रमा खटिएरका प्रहरीको भने परिक्षणमा त्यति ध्यान नदिनु गम्भिर लापरवाहि हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया प्रमुख लोकेन्द्र श्रेष्ठले पनि सडकमा खटिने प्रहरी अन्य व्यक्तिको तुलनामा बढी जोखिममा रहेको बताए । उनले अहिले सीमामा खटिएका ट्राफिक प्रहरीको कोरोना परिक्षण भएपनि अन्यको भने हुन नसकेको बताए ।
‘ज्वरो लगायत कोरोना संग मिल्दोजुल्दो कुनै लक्षण देखिएका प्रहरीहरुलाई परिक्षणकाका लागि पठाईरहेका छौ ।’ उनले भने ‘सडकमा खटिएका प्रहरीको कोरोना परिक्षण आवश्यक भएकाले त्यसका लागि हामीले पहल गरिरहेका छौ ।’ उनले कोरोना संक्रमणबाट बच्नको लागि उच्च सतर्कता अपनाएको बताए । सर्तकताका लागि पञ्जा र मास्क लगाउने, नियमित साबुन पानिले हात धुने, सामाजिक दुरी कायम गरेर काम गरिरहेको प्रमुख श्रेष्ठले बताए ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख ज्ञान बहादुर बिष्ट पनि उच्च सुरक्षा सतर्कता अपनाएर प्रहरीले काम गरिरहेको बताए । उनले अहिले सम्म त्यस्तो कुनै समस्या भने नदेखिएकाले बताए ।