अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले घर–घरमै गएर राहत वितरण कार्य सुरु गरिएको छ । विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नका लागि गरिएको लकडाउनले दैनिक ज्यालादारी गरी खाने वर्ग मारमा परेकाले नगरपालिकाले राहत वितरण सुरु गरिएको हो ।
राहत वितरण कार्य अन्तरगत आईतबार गोदावरी नगरपालिका १ पनि रातह वितरण गरिएको वडा नम्बर १ का वडा अध्यक्ष शर्मानन्द भट्टले बताए । उनले आफ्नो वडामा ४ सय ४ घरधुरीलाई राहत वितरण गरिने बताए । गोदावरी नगरपालिकाका प्रवक्ता समेत रहेका भट्टले वडा नम्बर १० मा पनि आजै देखि राहत वितरण शुरु गरिएको बताए । वडा नम्बर १० मा २ सय ८१ जनाले राहत पाउने छन ।
वडा नम्बर ११ र १२ मा राहत वितरणको काम सकिएको र बाकी वडाहरुमा पनि भोली देखि नै राहत वितरण सुरु गरिने प्रवक्ता भट्टले बताए । वडा नम्बर ११ मा ५७ जना र १२ मा १३३ जनालाई राहत वितरण गरिसकिएको छ ।
गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले नगरपालिका भित्रका विपन्न वर्गलाई लक्षित गरी रहत वितरण सुरु गरिएको बताए । उनले लकडाउनको कारण दैनिक ज्यालादारी गरी खाने बर्ग, अति बिपन्न बर्ग, गरिव, असाहाय र अपाङ्गता भएका व्यक्तिहरु एवम पिछडिएको समुहलाई लक्षित गरी नगरपालिकाले स्थापना गरेको कोष मार्फत राहत वितरण सुरु गरिएको बताए ।
राहत वितरण अघि नगरपालिकाले प्रत्येक वडा–वडाबाट तथ्याङ्क संकलन गरेको थियो । जसका लागि नगरपालिकाले टोल सुधार समिति, आमा समुहलाई परिचालन गरेको नगरपालिकाले जनाएको छ । गोदावरी नगरपालिकाका सूचना प्रविधि अधिकृत नारायण बढुका अनुसार राहत वितरणका लागि गोदावरी नगरपालिकामा ३ हजार १ सय २५ परिवारको तथ्याङ्क संकलन गरिएको छ ।
कसले कति राहत पाउँदै छन ?
नगरपालिकाले वितरण गर्ने राहतका लागि परिवारका सदस्य संख्या अनुसार सात दिनका लागि प्याकेज निर्माण गरेको छ । नगरपालिकाका प्रवक्ता भट्टका अनुसार २ जना परिवार संख्या, ४ जना परिवार संख्या र ४ भन्दा बढी परिवार संख्या भएका लागि छुट्टाछुटै प्याकेज निर्माण गरिएको बताए ।
जसअनुसार २ जना परिवार संख्या भएकोले ७ किलोग्राम चामल, १ किलोग्राम दाल, आधा लिटर तेल, १ किलोग्राम नुन र १ साबुन पाउने छन भने ४ जना सम्म परिवार संख्या भएकोले १० किलोग्राम चामल, २ किलोग्राम दाल, १ लिटर तेल, १ किलोग्राम नुन र १ साबुन पाउने छन । त्यस्तै ४ भन्दा बढी परिवार संख्या भएका परिवारले १५ किलोग्राम चामल, ३ किलोग्राम दाल, १ लिटर तेल, १ किलोग्राम नुन र १ साबुन पाउने छन ।