अत्तरिया – विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि अहिले पुरै विश्व लागिपरेको छ । महामारीका रुपमा फैलिएको यस भाईरसको संक्रमण अहिले सम्म १० लाख बढीमा फैलिईसकेको छ । नेपालमा पनि यसको संक्रमण फैलिन नदिन देशभरी लकडाउन गरेर बिभिन्न सतर्कताका उपाय अपनाईदै छ ।
कोरोना भाईरसको संक्रमण हुनबाट जोगिने एउटा मुख्य उपायका रुपमा भिडभाड नगर्ने र ‘सोसियल डिस्टेन्सी’ अर्थात सामाजिक दुरी कायम गर्नुपर्ने जानकारहरुले बताउने गरेका छन । एक–आपसमा जति धेरै दूरी राख्न सकियो, कोराना भाइरसबाट त्यति नै सुरक्षित रहन सक्ने विश्वास गरिएको छ । यही विश्वासका साथ ‘सोसियल डिस्टेन्स’ अपनाउन सरकारले विभिन्न माद्यमबाट भन्दै आएको छ ।
तर पछिल्लो समय बिभिन्न ठाउँमा भईरहेका राहत वितरणमा सरकारी निकायका कर्मचारी र जनप्रतिनिधिले नै यसको बेवस्ता गर्ने गरेका छन । लामो समयदेखि गरिएको लकडाउनका कारण दैनिक ज्यालामजदुरी गरी खाने यस्ता कार्यक्रमबाट राहत पुगेको भएपनि राहत वितरणमा गरिएको असावधानीले जोखिम समेत बढाएको देखिन्छ ।
लकडाउनमा सर्वसाधारणलाई अत्यावस्यक काम बाहेक घर बाहिर हिड्न रोक लगाईएको छ भने दैनिक उपभोग्य सामाग्री किन्नको लागि पनि सामाजिक दुरी कायम गर्न अनिवार्य गरिएको छ । सरकारले बनाएको यो नियमको सरकारी निकायबाट बेवस्था गर्ने गरिएको छ । अहिलेको बिशेष परिस्थितिको वास्तै नगरी अधिकान्स जनप्रतिनिधि राहत वितरणका गर्ने कार्यक्रम नै आयोजना गरेर मान्छे भेला गर्ने, राहत वितरणको गरेको फोटो खिचाउन एकै ठाउँमा जम्मा हुने गरेका छन ।
स्थानिय तहका जनप्रतिनिधि देखि लिएर मन्त्री सम्म रातह वितरण गर्दा सामाजिक दुरी कायम गर्न वेवस्था गर्ने गरेका छन । यसरी भिडभाड गरेर एकै ठाउँमा जम्मा भएर गरिएको राहत वितरणले झनै जोखिम बढाउन सक्ने चिकित्सकहरुले बताउने गरेका छन । मालाखेती अस्पतालका प्रमुख डक्टर पद्म प्रकाश देव शार्माले एकले अर्कोको हात छुदाँ वा सामानहरुबाट पनि कोरोना भाईरस सर्न सक्ने बताए । उनले सामान एक अर्कोलाई दिदाँ सकेसम्म हात नछुने गरी दिने र सामान लिएपछि पनि तुरुन्तै साबुन पानीले हात धुन आवश्यक रहेको बताए ।
भिडभाडमा भने कसैले हाछ्यु गर्दा वा खोक्दा भाईरस सर्न सक्ने भएकाले कम्तिमा ३ फुटको दुरी कायम गर्न आवश्यक रहेको डा. शर्माले बताए ।
‘सोसियल डिस्टेन्सी राखिएन भने एक जनामा भएको भाईरस सजिलै अर्कोमा सर्ने खतरा रहन्छ । खोक्दा हाछ्यु गर्दा पनि भाईरस सर्ने भएकाले कम्तिमा ३ फुटको दुरी कायम गर्नुप¥यो ।’ उनले भने – ‘हात नै मिल्यो भने त करेन्ट पास भएजस्तै सर्छ, सामानमा पनि भाईरस रहने भएकाले यसरी सामान दिनै परे पनि सेनिटाईजरले हात सफा गर्ने वा हात धुने गर्नुप¥यो ।’
नेपालमा अहिले सम्म नौ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसमद्ये सुदूरपश्चिममा मात्रै ४ जनामा कोरोना भाईरसको संक्रमण फैलिसकेकाले यस क्षेत्रमा पनि जोखिम उच्च रहेको छ । त्यसैले राहत वितरण आवश्यक भएपनि अहिलेको संकटको समयमा राहत हस्तान्तरण गरेको फोटो खिचाउकै लागि सबै जना एक ठाउँमा भेला हुने राहत सामग्रीलाई सबैले छुने जस्ता जोखिमपुर्ण कामबाट बच्न आवश्यक छ ।