अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले १३ जनालाई क्वारेन्टाईनमा राखेको छ । भारतबाट आएका १३ जनालाई मालाखेती अस्पतालको क्वारेन्टाईनमा राखिएको हो । गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले भारतबाट आएका उनीहरुमा ज्वरोको लक्षण देखिएपछि मालाखेती अस्पतालको क्वारेन्टाईन राखिएको बताए ।
क्वारेन्टाईनमा राखिएका मद्ये गोदावरी नगरपालिकाको १ नम्बर वडाका सबैभन्दा वढी रहेका छन । वडा नम्बर १ बाट ६ जना, वडा नम्बर १० बाट ३ जना र वडा नम्बर ३,४ र ८ बाट १/१ जनालाई र दार्चुलाका १ जनालाई क्वारेन्टाईनमा राखिएको गोदावरी नगरपालिकाका सुचना प्रबिधि अधिकृत नारायण बढुले जनाकारी दिएका छन ।
३ सय ८९ जना सेल्फ क्यारेन्टाईनमा
नगरपालिका भित्र ३ सय ८९ जनालाई सेल्फ क्यारेन्टाईनमा राखिएको छ । भारतबाट आएका ३ यस ८९ जनाको नगरपालिकाले तथ्याङ्क संकलन गरी सेल्फ क्वारेन्टाईनमा राखिएको नगरपालिकाका प्रवक्ता एवम नगरपालिकाको कोरना सचेतना तथा उद्दार टास्क फोर्स समितिका संयोजक भट्टले बताए ।
उनले अहिले पनि बिभिन्न वडाहरुमा तथ्याङ्क संकलन गर्ने कार्य जारी रहेकाले संख्या अझै बढ्न सक्ने बताए । अहिले सम्म संकलन गरिएको तथ्याङ्क अनुसार नगरपालिकाको वडा नम्बर १ मा ३३ जना, वडा नम्बर २ मा ३५ जना, वडा नम्बर ३ मा ३९ जना, वडा नम्बर ४ मा ७ जना, वडा नम्बर ५ मा ७ जना रहेका छन ।
त्यस्तै वडा नम्बर ७ मा २२ जना वडा नम्बर ८ मा १५ जना, वडा नम्बर ९ मा ४१ जना, वडा नम्बर १० मा १०० जना, वडा नम्बर ११ मा १५ जना र वडा नम्बर १२ मा ७५ जनाको तथ्याङ्क नगरपालिकामा पुगेको नगरपालिकाका सुचना प्रबिधि अधिकृत बढुले बताए । उनले वडा नम्बर ६ को तथ्याङ्क नआएको बताए । उनले जिल्ला प्रशासनबाट थप ३८ जना भारतबाट गोदावरी नगरपालिकामा आएको तथ्याङ्क प्राप्त भएको र उनीहरुलाई पनि सेल्फ क्वारेन्टाईनमा राखिएको बताए ।
वडा नम्बर ६ का वडा अध्यक्ष बिर बहादुर चोखालले तथ्याङ्क संकलनको काम जारी रहेकाले भोली सम्ममा वडामा भारतबाट आएकाको तथ्याङ्क संकलन गरिसक्ने बताए ।
गोदावरी नगरपालिका १० का वडा अध्यक्ष रबिन्द्र शाहीले भने वडामा २ सय ५० जना भारतबाट आएको बताए । उनले सबैको विवरण संकलन गरिसकेको र सबैको घर घरमा स्वास्थ्य टोली गएर सेल्फ क्वारेन्टाईनमा बस्न लगाएको बताए । उनले सोहि टोली मार्फत २२ हजार मास्क र ४ हजार साबुन वितरण गरेको बताए ।
भारतबाट लुकेर आउँदा चुनौती थपिदैं
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरसको जोखिमबाट बच्नको लागि पछिल्लो समय गोदावरी नगरपालिकाले पनि उच्च सतकताए अपनाएको छ । गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिं साउँदले नगरपालिले वडा वडामा जनप्रनिनिधि सहितको टोली परिचालन गरेको बताए । उनले अहिले पनि लुकेर भारतबाट आउनेको संख्या नरोकिएकाले चुनौती थपिएको भएपनि नगरपालिकाले उच्च सतर्कता अपनाएको बताए ।
‘भारतबाट आएकाहरुलाई सम्पर्कमा ल्याउन समस्या भईरहेको छ । उनीहरु क्वारेन्टाईनमा बस्न चाहिरहेका छैनन् ।’ नगरप्रमुख साउँदले भने ‘हामीहरुले प्रहरी प्रशासनको सहयोग लिएर सेल्फ क्वारेन्टाईनमा बसाईरहेका छौ ।’
गोदावरी नगरपालिकाले अत्तरियाको सामुदायिक अस्पतालमा २० वेडको आईसोलेसन कक्ष, मालाखेती अस्पतालमा २० र तेघरी व्यारेकमा १ सय २० बेडको क्वारेन्टाईन स्थापना गरेको छ ।