अत्तरिया - सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लाहरूमा फेरि भारी हिमपात भएको छ । मौसममा आएको परिवर्तनसँगै बुधबार रातिदेखि भारी हिमपात सुरू भएको हो ।
हिमपातका कारण पहाडी जिल्लाका सम्पुर्ण राजमार्गहरु अवरुद्ध रहेका छन् । हिमपातका कारण भीमदत्त राजमार्ग र डडेल्धुरा बैतडी दशरथ चन्द राजमार्ग विभिन्न ठाउँमा अवरुद्ध भएको छ । हिमपातका कारण भीमदत्त राजमार्ग र दशरथ चन्द राजमार्गमा पुर्ण रुपमा ठप्प रहेको छ ।
राजमार्ग अवरुद्ध भएपछि पाहाडवाट तराईमा आउने र तराईवाट पहाड जाने सवारी साधनहरुलाई बिच बाटोमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठका अनुसार तराईवाट पाहाड जाने सवारी साधनहरुलाई साहुखर्कमा र आउनलेलाई स्याउलेमा रोकिएको बताए । भारी हिमपात भएका कारण अबरुद्ध राजमार्ग सुचारु गर्नमा कठिनाई भैरहेको उनले बताए ।
यद्धपी अवरुद्ध सडक खोल्नका लागि डडेल्घुरामा ४ वटा स्काइभेटरहरु तयारी अबस्थामा राखिएको प्रहरी उपरिक्षक श्रेष्ठले बताए । संचार सेवा पनि अबरुद्ध हुदा दार्चुला , बझाडवाट आउने सवारी साधनहरु सम्पर्क बिहिन रहेको उनको भनाई छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरु डडेल्धुरा, बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाहरुमा हिमपात सुरु भएसँगै चिसो पनि अत्याधिक बढेको छ । अत्यधिक चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ । चिसोले वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन् ।