मौसम पूर्वानुमान महाशाखाले आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाका अनुसार उक्त अवधिमा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। यी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने पूर्वानुमान गरिएको छ।
त्यस्तै मधेश तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। कर्णाली प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्यभाग आसपासमा रहेको छ। उक्त मौसमी प्रणाली थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने क्रममा रहेकाले यसको प्रभावले वर्षाको गतिविधि बढ्ने अनुमान गरिएको हो।
सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो, भूक्षय तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिइएको छ।
सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिमसँगै ठूला तथा साना नदी, खोला र नालामा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।
वर्षाका कारण सडक तथा हवाई यातायात, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन तथा नदी आसपासका निर्माण कार्य प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, धानबाली भित्र्याउने समय भएकाले किसानलाई मौसमसम्बन्धी जानकारी लिएर तथा आवश्यक सावधानी अपनाएर काम गर्न आग्रह गरिएको छ। हिमाली क्षेत्रमा भारी हिमपात हुन सक्ने सम्भावना रहेकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई समेत उच्च सतर्कता अपनाउन भनिएको छ।
महाशाखाले मौसमी प्रणालीको निरन्तर अनुगमन भइरहेको र अवस्था अनुसार मौसमसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिने जनाएको छ।
सर्वसाधारणलाई मौसमको आधिकारिक सूचना हेर्न, नदी तथा खोलाको आसपास नजान र सम्भावित बाढी–पहिरोबाट जोगिन आवश्यक पूर्वतयारी अपनाउन आग्रह गरिएको छ।