कैलालीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न जिल्ला प्रशासन कार्यालयको आह्वानमा बसेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले तीनबुँदे निर्णय गरेको छ।
तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएका धार्मिक द्वन्द्व, आगजनी, तोडफोड तथा बन्द–हड्तालका घटनाबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै बैठकले जिल्लाभर धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गरी पालिका तथा वडा तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन गर्ने निर्णय गरेको हो।
बैठकले कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने सभा, जुलुस वा र्याली सकेसम्म आयोजना नगर्न आग्रह गरेको छ। अपरिहार्य अवस्थामा यस्ता कार्यक्रम गर्नुपरे स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिएर मात्र सञ्चालन गर्नुपर्ने निर्णय गरिएको छ। साथै, शान्ति–सुरक्षामा असर पुग्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गरिएको छ।
त्यस्तै, कुनै व्यक्ति वा संस्थाले अर्को धार्मिक समुदायको सम्मानमा आँच पुग्ने गतिविधि गरे तत्काल कानुनी कारबाही प्रक्रिया अघि बढाइने निर्णय पनि बैठकले गरेको छ।
बैठकले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै छिमेकी मुलुकबाट सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै व्यक्तिले आधिकारिक परिचय खुल्ने परिचयपत्र देखाएर मात्रै नेपाल प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णयसमेत गरेको छ।
यसैबीच, कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा साउन १८ गते धनगढीमा ‘नागरिक सद्भाव र्याली’ आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रशासनले धार्मिक सहिष्णुता, सामाजिक एकता र शान्ति–सुरक्षा कायम राख्न सबै समुदाय, संघसंस्था तथा नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।