नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरीको देवानगञ्ज गाउँपालिका र त्यसपछि सिरहासहित विभिन्न क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले संयमता अपनाउँदै सामाजिक सद्भाव र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
बिहीबार एक अपिल जारी गर्दै ओलीले सुनसरीमा राज्य पक्षबाट भएको बल प्रयोगका क्रममा स्थानीय युवा ओमप्रकाश मेहता तथा सिरहामा गोली लागेर गणेश यादवको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। साथै, घटनामा अन्य नागरिक घाइते भएकोप्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन्।
हिंसात्मक घटना रोकिनुको सट्टा थप उग्र बन्दै सिरहालगायत विभिन्न स्थानमा गोली चल्दा थप नागरिकको ज्यान गएको खबरले आफू स्तब्ध र मर्माहत भएको ओलीले बताएका छन्।
उनले नागरिकबीचको एकता र भ्रातृत्व नै राष्ट्रको मुख्य शक्ति भएको उल्लेख गर्दै समाजमा विभाजन ल्याउने उद्देश्यले फैलाइने भ्रामक प्रचारप्रति सचेत रहन सबैलाई आग्रह गरेका छन्। एमालेका नेता–कार्यकर्ता, अन्य राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकलाई संयमता अपनाउँदै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सक्रिय भूमिका निर्वाह गर्न उनले अनुरोध गरेका छन्।
सरकारको भूमिकाप्रति प्रश्न उठाउँदै ओलीले नागरिकको जीउधनको सुरक्षा गर्नु र संवादमार्फत समस्या समाधान गर्नु सरकारको प्राथमिक दायित्व भए पनि राष्ट्रिय सुरक्षा तथा सामाजिक सुव्यवस्था संवेदनशील अवस्थामा पुग्दा सरकारले उदासीनता, अत्यधिक बल प्रयोग र मौनता देखाएको आरोप लगाए।
उनले हिंसात्मक गतिविधि तत्काल रोक्न र अविलम्ब संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेका छन्।
ओलीले वर्तमान विषम परिस्थितिमा प्रमुख राजनीतिक दलहरू आपसी आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
द्वन्द्व र हिंसाबाट समस्याको समाधान नहुने भन्दै ओलीले संवाद, सहमति र जिम्मेवार राजनीतिक सहकार्यबाट मात्रै मुलुकलाई वर्तमान जटिल अवस्थाबाट निकास दिन सकिने बताएका छन्।
यस्तो छ ओलीको अपिल :