कैलालीको गोदावरी नगरपालिकामा वन अतिक्रमण हटाउने क्रममा भिरबाट टेम्पो खसेको चर्चित घटनाले नयाँ मोड लिएको छ। घटनापछि क्षतिपूर्ति दाबी गरिएकी धना देवी धामीको नाममा उक्त टेम्पो दर्ता नरहेको तथ्य सार्वजनिक भएको छ।
प्राप्त जानकारीअनुसार गरिमा विकास बैंकबाट फाइनान्स गरिएको टेम्पो गेटा–५ निवासी कृष्णकुमार थापाको नाममा रहेको कागजातबाट देखिएको बताइएको छ। घटनापछि क्षतिपूर्ति माग्दै कानुनी प्रक्रिया अघि बढाइएको भए पनि गाडीको स्वामित्व पुष्टि गर्ने आधिकारिक कागजात पेश हुन नसकेको दाबी गरिएको छ।
दुवै पक्षबीच मिलापत्र गराउने प्रयासका क्रममा गाडीको स्वामित्वसम्बन्धी कागजात मागिएको तर आवश्यक प्रमाण प्राप्त नभएको लेखापढी व्यवसायी भोजराज जोशीले बताए। उनका अनुसार प्रमाण अभावमा कसरी र कोसँग सम्झौता गर्ने भन्ने अवस्था देखिएको छ।
यस घटनासम्बन्धी उजुरीका आधारमा प्रहरीले सब–डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फुलारालाई नियन्त्रणमा लिएको थियो। उनीहरू हाल प्रहरी हिरासतमा छन्।
कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गाडीको वास्तविक स्वामित्वबारे थप तथ्य र कागजात आवश्यक रहेको बताएका छन्। “प्रमाण नहुँदा कानुनी प्रक्रिया अघि बढाउन जटिलता देखिएको छ,” उनले बताए।
उता, डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामबिचारी ठाकुरले प्रारम्भिक चरणमै स्वामित्व र कागजातको पर्याप्त अध्ययन नगरी मुद्दा अघि बढाइएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनका अनुसार जिल्ला प्रशासन कार्यालयको निर्णय र प्रहरी प्रशासनको उपस्थितिमा वन अतिक्रमण हटाउने काम गरिएको थियो।
उनले टेम्पो नियतवश नभई भीडभाडका बीच दुर्घटनावश खसेको दाबी गर्दै घटनालाई अतिरञ्जित गरिएको टिप्पणी गरेका छन्।
घटनापछि अनुसन्धान प्रक्रिया, कानुनी आधार र सरकारी कर्मचारीमाथिको कारबाहीलाई लिएर विभिन्न प्रश्न उठ्न थालेका छन्। सम्बन्धित निकायले भने अनुसन्धान जारी रहेको जनाएको छ।