महाकाव्यकार महाकवि मनिराज जोशीको कृतित्व र योगदानमाथि गहन छलफल भएको छ । कार्यक्रममा साहित्यकार, प्राध्यापक, समालोचक तथा साहित्यप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रमको प्रमुख आकर्षणका रूपमा महाकवि जोशीको कृतिसंग्रह ‘गोकर्णगीता’ तथा प्राध्यापक डा. देवेन्द्रप्रसाद भट्टद्वारा लिखित ‘काव्यऋषि मनिराजका अष्टदीप’ कृतिको लोकार्पण गरिएको थियो।
विमर्शका क्रममा वक्ताहरूले महाकवि जोशीले नेपाली साहित्यमा पुर्याएको योगदानलाई स्मरण गर्दै उनले रचनाहरूले नेपाली समाज, संस्कृति र इतिहासलाई गहिरो रूपमा अभिव्यक्त गरेको बताए।
उनका चर्चित महाकाव्यहरूमा पहलमानसिंह स्वाँर, दशरथ चन्द, जयपृथ्वीबहादुर सिंह, शैलेश्वरी, खप्तड, प्रकाश, मानसखण्ड र भरत उल्लेख गरिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा हेमराज पन्तले महाकवि जोशीका सिर्जनालाई नेपाली साहित्यको अमूल्य सम्पत्ति भन्दै सामाजिक तथा सांस्कृतिक चेतनामा उहाँको प्रभाव उल्लेखनीय रहेको बताए।
कार्यक्रममा क्याम्पस प्रमुख बुधराम चौधारी, वरिष्ठ साहित्यकार श्रेष्ठ प्रिया पत्थर, प्राज्ञ वासुदेव पाण्डेय, निर्मलकुमार भण्डारी, पदमराज जोशी प्रभात, टोपेन्द्र शाह, फाल्गुना दहाल, रुपा स्वार, जगन्नाथ जोशी, गणेशराज जोशी र तारा जोशी लगायतको उपस्थिति रहेको थियो।
वक्ताहरूले महाकवि जोशीका रचनामा रहेको भावनात्मक गहिराइ, सांस्कृतिक चेतना र सामाजिक सन्देश आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गरे।
डा. भट्टले आफ्नो कृति ‘काव्यऋषि मनिराजका अष्टदीप’ मार्फत जोशीका साहित्यिक आयाम र सांस्कृतिक योगदानबारे विश्लेषण प्रस्तुत गरेका थिए।कार्यक्रमको सञ्चालन सचिव चेतरज पनेरुले गरेका थिए।
साहित्यिक विमर्शले महाकवि मनिराज जोशीको सिर्जना र योगदानलाई नयाँ पुस्तासम्म पुर्याउने तथा नेपाली साहित्यको अध्ययन–अनुसन्धानलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।