सुदूरपश्चिम प्रदेशको टीकापुरमा पहिलोपटक अन्तरव्यवस्थापिका सम्मेलन आयोजना हुने भएको छ। अन्तरव्यवस्थापिका मञ्चको आयोजना तथा सुदूरपश्चिम प्रदेश सभाको व्यवस्थापनमा हुने सम्मेलन जेठ २३ गते उद्घाटन भई जेठ २४ गते घोषणापत्र जारी गर्दै समापन गरिनेछ।
सम्मेलनमा प्रतिनिधिसभाका सभामुख र उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष, सातै प्रदेशका सभामुख–उपसभामुख, संघीय तथा प्रदेश संसद्का सचिवलगायत उच्च पदाधिकारीहरूको सहभागिता रहने सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए।
सभामुख भण्डारीका अनुसार सम्मेलनमा कानुन निर्माण र कार्यान्वयन, संसद सञ्चालनका चुनौती, संघीय र प्रदेश संसदका अनुभव आदानप्रदान, तथा सरकारलाई संसदप्रति थप उत्तरदायी बनाउने विषयमा व्यापक छलफल हुनेछ। उनले कानुन निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने, संसदलाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्ने तथा बजेट कार्यान्वयनमा देखिएका समस्याबारे पनि विशेष बहस हुने बताए।
उनका अनुसार नीति, कार्यक्रम र बजेटबीचको तालमेल, बजेट कार्यान्वयनमा सरकारको जवाफदेहिता तथा निर्माण भएका कानुनहरूको प्रभावकारिता मूल्यांकन गर्न उत्तरविधायिकी परीक्षणका विषय पनि सम्मेलनका प्रमुख एजेण्डा रहनेछन्।
उद्घाटन सत्रको अध्यक्षता सभामुख भण्डारीले गर्नेछन् भने राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पनि शुभकामना मन्तव्य दिने कार्यक्रम छ।
सम्मेलनमा संघीय संसद्का सचिव डा. रोजनाथ पाण्डेय, सूचना प्रविधि विज्ञ विनित सत्याल, संविधानसभा सदस्य खिमलाल देवकोटा तथा पूर्वसचिव डा. सुरेन्द्र अर्यालले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गर्नेछन्।
संसदीय अभ्यास, डिजिटल संसद, कानुन निर्माण प्रक्रिया, संघ–प्रदेश–स्थानीय तहबीचको समन्वय तथा बजेट निर्माणका आदर्श अभ्यासबारे छलफल हुने सम्मेलनले संसदीय प्रणालीलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।