कैलालीको धनगढी उपमहानगरपालिकाले ३३ सयभन्दा बढी सर्पको उद्धार गरेको छ। उपमहानगरपालिकाको नगर प्रहरीले सर्प उद्धार सेवा सुरु गरेको दुई वर्ष सात महिनाको अवधिमा ३ हजार ३०२ वटा सर्प सुरक्षित रूपमा उद्धार गरेको हो।
उपमहानगरपालिकाले २०८० असार ३१ गतेदेखि नागरिकको घरभित्र पस्ने सर्पको उद्धार अभियान सुरु गरेको थियो। उपलब्ध तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ८३४, आर्थिक वर्ष २०८१/८२ मा १ हजार ३७९ र चालु आर्थिक वर्षको फागुनसम्म १ हजार ७७ सर्प उद्धार गरिएको छ।
नगर प्रहरी टोलीले घरगोठ, आँगन, बाथरुम तथा पसलमा पसेका सर्पलाई सुरक्षित रूपमा समातेर उचित स्थानमा छोड्ने गरेको छ। उद्धार गरिएका सर्पमा कमन करेत, करेत, अजिङ्गर, कमन कोब्रा, ब्ल्याक कोब्रा, किङ कोब्रा र ब्यान्डेड करेतजस्ता विषालु प्रजाति पनि रहेका छन्।
सर्प देखिएमा तत्काल उद्धारका लागि नगर प्रहरीले ०९१–५९०६९० र टोल फ्री नम्बर १८१०५००००९० सार्वजनिक गरेको छ। जानकारी पाएपछि उद्धार टोली तुरुन्तै घटनास्थल पुग्ने व्यवस्था गरिएको जनाइएको छ।
उपमहानगरले सुरुआतमा २५ जना नगर प्रहरीलाई सर्प उद्धारसम्बन्धी तालिम दिएको थियो, जुन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले प्रदान गरेको हो। प्रशिक्षित टोलीले पछि अन्य नगर प्रहरीलाई पनि तालिम दिँदै सेवा विस्तार गरेको बताइएको छ।
सर्पको टोकाइबाट हुने जोखिम कम गर्दै नागरिकको ज्यान जोगाउने उद्देश्यले सुरु गरिएको यस अभियानप्रति स्थानीयवासीले सकारात्मक प्रतिक्रिया दिएका छन्। नागरिक सुरक्षासँगै सर्प संरक्षणमा समेत योगदान पुगेको भन्दै यसको प्रशंसा भइरहेको छ।