कैलालीको अत्तरियामा श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ। महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा सञ्चालन भएको महायज्ञ फागुन ३ गतेसम्म जारी रहनेछ।
महायज्ञको पहिलो दिन आज सेभ हाउसको कार्यालयबाट भव्य कलश यात्रा निकालिएको थियो। कलश यात्राले अत्तरियाको बजार क्षेत्र परिक्रमा गरेको थियो। कार्यक्रममा यहाँका विभिन्न सामाजिक संघ–संस्थाहरूको उल्लेख्य सहभागिता रहेको थियो।
महिला तथा बालबालिका सेभ हाउसमा आश्रित बालबालिकाहरूका लागि अक्षयकोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको सेभ हाउसका संरक्षक डा. नरबहादुर मोनीले जानकारी दिए।
महायज्ञको उद्घाटन एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले गरेका हुन्। आयोजकले सबै श्रद्धालु भक्तजनलाई महायज्ञमा सहभागी भई धर्मलाभ लिन अनुरोध गरेका छन्।
महायज्ञ पूजा–पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिंगारिक महाआरती आयोजना हुने आयोजकले जनाएको छ। महायज्ञमा नेपालकै चर्चित कथा वाचिका पूज्या देवी सुमि मानवसहित उनको समूहले कथा प्रवचन गर्नेछन्। यस्तै, मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन्।
महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाह लगायतका धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ।
सेभ हाउसमा अहिले ४० भन्दा बढी अनाथ तथा असहाय बालबालिका आश्रित रहेका छन्। संस्थाको आफ्नै भवन नभएकाले हाल पद्मा अस्पतालले उपलब्ध गराएको भवनमा संस्था सञ्चालन हुँदै आएको छ।