आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ३७ जिल्लाका ८८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ कार्य सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार हालसम्म १ करोड ९ लाख ६३ हजार मतपत्र छपाइ सम्पन्न भइसकेको छ। छापिएका मतपत्रमध्ये सम्बन्धित जिल्लाको प्याकिङ कार्यसमेत सकिएको उनले जानकारी दिए।
छपाइ सम्पन्न भएका जिल्लाहरूमा डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत र बर्दघाट सुस्ता पश्चिम नवलपरासी रहेका छन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गतका मतपत्र छपाइ गत पुस २२ गतेदेखि सुरू गरिएको हो।
आयोगका अनुसार पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ गरी सम्बन्धित जिल्लामा पठाइसकिएको छ। त्यसैगरी, पुस २६ गतेदेखि सुरू गरिएको समानुपातिक प्रणालीतर्फको मतपत्र छपाइ माघ १३ गते सम्पन्न भएको थियो।
उक्त चरणमा २ करोड ८ लाख ३० हजार मतपत्र छपाइ गरी प्याकिङ तथा रुजु प्रक्रिया पूरा गरेर ढुवानीको तयारी अवस्थामा राखिएको आयोगले जनाएको छ।