कैलालीको गोदावरी नगरपालिकामा एशियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालन भइरहेको क्षेत्रीय शहरी विकास परियोजना (RUDP) अन्तर्गत ढल निकास तथा सडक निर्माण कार्य आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
नगरपालिका भित्रका ८ वटाभन्दा बढी वडाका सडक पूर्वाधारलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यसहित परियोजना अघि बढाइएको हो। सडक तथा ढल निकास निर्माणका लागि पछिल्लो लागत अनुमान अनुसार ३२ करोड ५९ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरिएको जनाइएको छ।
निर्माण कार्यको शिलान्यास गर्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले पुजापाठसहित कार्य प्रारम्भ गरे । उनका अनुसार योजना छनोट, प्राविधिक मूल्यांकन तथा टेन्डर प्रक्रिया पूरा भएपछि आजबाट भौतिक निर्माण सुरु गरिएको हो।
यस परियोजनाले नगरभित्रको सडक, ढल निकास र सहायक संरचनामा दीर्घकालीन सुधार ल्याउने अपेक्षा गरिएको छ।
परियोजनाका इन्जिनियर भूपेन्द्र मण्डलका अनुसार समयावधि विस्तारसँगै थप प्याकेजमार्फत विभिन्न सडकखण्ड समावेश गरिएको छ। तीमध्ये
अत्तरिया रिङरोड, ६ लेन सडकदेखि आँखा अस्पताल जाने मार्ग, शान्तिटोल–तेघरी सडकखण्ड, ग्वासी–खमौरा सडक ,मालाखेती नहरदेखि पश्चिम ओलानी जाने बाटो, लालपुर गौडीदेखि पूर्वतर्फको सडकखण्ड, लगायतका सडकहरू प्रमुख रहेका छन्।
गोदावरी नगरपालिकाले निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्ने र गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाएको छ।
शिलान्यास कार्यक्रममा वडा नं. ५ का वडा अध्यक्ष शुद्धिराम चौधरी, M/S KSNS–BCPL Joint Venture का अध्यक्ष दिनेश मल्ल, आयोजना प्रबन्धक अशोक पाण्डे लगायत प्राविधिक तथा स्थानीयको उपस्थिति रहेको थियो।