आज देशभर शहीद दिवस मनाइँदै छ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार शहीद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य शहीदको सम्झनामा यो दिवस मनाउने गरिन्छ ।
राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उनीहरूलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै शहीदहरूको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो ।
प्रत्येक वर्ष १६ माघमा मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदै छ ।
यही १०–१६ माघसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ ।
२०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष १६ माघमा शहीदको सम्झनामा दिवस मनाउन थालिएको थियो ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शहीद शुक्रराज शास्त्रीलाई १० माघमा काठमाडौंको टेकुस्थित पचलीमा, १३ माघमा धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई १५ माघमा शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो ।