अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसद्वारा संचालन हुने श्रीमद् भागवत ज्ञान महायज्ञ को तयारी तीब्र पारिएको छ ।
संस्थाको कार्यालयमा सचिवालय राखेर अहिले विभिन्न उपसमितिहरूले कामहरू गरिरहेका छन्। संस्थाकि अध्यक्ष जानकि मलासीले अहिले निमन्त्रणा दिने कार्य , मंच निर्माणको कार्य बाटोघाटो लगाएतका भौतिक संरचना को कार्य भैरहेको बताइन् ।
संस्थामा आस्रित बालबालिकाको संरक्षणको लागि अक्षय कोषको स्थापनार्थ महायज्ञ माघ २६ गतेदेखि फागुन ३ गतेसम्म संस्थाको कार्यालय रहेको प्राङ्गणमा सञ्चालन हुँदै छ ।
महायज्ञको अवसरमा माघ २६ गते शोभा (कलश) यात्रा निकालिनेछ। यस्तै माघ २७ गतेदेखि फागुन ३ गतेसम्म पूजा–पाठ पारायण, महात्म्य, कथा प्रवचन तथा प्रत्येक दिन साँझ सिंगारिक महाआरती आयोजना हुने आयोजकले जनाएको छ।
कार्यक्रमअनुसार:
बिहान ७ देखि ११ बजेसम्म पूजा–पाठ पारायण
दिउँसो संगितमय झाँकीसहित कथा प्रवचन
साँझ ६ देखि ७ बजेसम्म महाआरती
राति ७ देखि ९ बजेसम्म महात्म्य कथा झाँकी
महायज्ञमा नेपालकै चर्चित कथा वाचिका पूज्या देवी सुमि मानवसहित उनको समूहले कथा प्रवचन गर्नेछन्। यस्तै, मूल पाठ पारायण, यज्ञ, होम तथा पूजा उपवाचक जनार्दन प्रसाद पन्तले सम्पन्न गर्नेछन्।
महायज्ञ अवधिभर अन्नदान, मुठीदान, तुलादान, व्रतबन्ध तथा विवाह लगायतका धार्मिक कार्यक्रमहरू समेत सञ्चालन गरिनेछ।
सेभ हाउसमा अहिले ४० भन्दा बढी अनाथ तथा असहाय बालबालिका आश्रित रहेका छन्। संस्थाको आफ्नै भवन नभएकाले हाल पद्मा अस्पतालले उपलब्ध गराएको भवनमा संस्था सञ्चालन हुँदै आएको छ।