प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ ।
उक्त उजुरीपछि यही ८ माघको बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवं आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
आयोगले ९ माघको बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयनपत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।आयोगका अनुसार २ हजार ९२५ जनाको उम्मेदवारी परेको छ ।
उत्साहजनक र शान्तिपूर्ण रूपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरे ।
निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उनले अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले २ हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए । उनका अनुसार त्यसमा महिला उम्मेदवार ३ सय ३६ र पुरुष २ हजार ५८९ जना रहेका छन् ।
यस्तै, अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका १ सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।