आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि आज देशभर उम्मेदवारी दर्ता हुँदै छ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी आवश्यक सबै तयारी पूरा भइसकेको जनाएको छ।
आयोगले उम्मेदवारी दर्ताका क्रममा कुनै पनि तडकभडक नगर्न, शान्त, मर्यादित र अनुशासित रूपमा निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा उम्मेदवारहरूलाई आग्रह गरेको छ।
भिडभाड कम गराउने र उम्मेदवारी दर्ता प्रक्रिया सहज बनाउने उद्देश्यले आयोगले प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरूका लागि समयसमेत तोकेको छ।
यसअघि आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिसकेको छ।
२७५ सदस्यीय प्रतिनिधिसभामध्ये समानुपातिकतर्फ ११० जना र प्रत्यक्षतर्फ १६५ जना निर्वाचित हुने व्यवस्था छ।गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनपछि निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले निर्वाचनका लागि आवश्यक साधन–स्रोत उपलब्ध गराएको छ। निर्वाचन सुरक्षाका लागि निर्वाचन प्रहरी छनोट प्रक्रिया पनि सुरु भइसकेको छ।
अधिकांश राजनीतिक दलहरूले उम्मेदवार छनोट गरिसकेका छन् भने बाँकी दलहरूले पनि आज बिहानसम्म सबै प्रक्रिया टुंग्याउने तयारी गरेका छन्।
नेपाली कांग्रेसले केही क्षेत्रमा उम्मेदवार छनोट प्रक्रिया जारी रहेको जनाएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले सबै निर्वाचन क्षेत्रमा उम्मेदवार छनोट गरिसकेको बताएको छ। एमाले, नेकपा, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत दलहरूले उम्मेदवार छनोट गरी आधिकारिक पत्रसमेत प्रदान गरिसकेका छन्।
आयोगको कार्यसूचीअनुसार आज देशभर उम्मेदवारको मनोनयन हुनेछ। उम्मेदवारले नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
साथै सम्बन्धित गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा पनि आवश्यक पर्नेछ। आयोगले अन्य केही कागजातसमेत साथमा ल्याउन आग्रह गरेको छ।
आयोगले सबै तयारी पूरा भइसकेको भन्दै आज देशभर उत्साहपूर्ण रूपमा उम्मेदवार मनोनयन कार्यक्रम सम्पन्न हुने विश्वास व्यक्त गरेको छ। २०७९ मा निर्वाचित प्रतिनिधिसभा गत भदौको आन्दोलनपछि विघटन भएपछि नयाँ निर्वाचन हुन लागेको हो।