पश्चिम नेपालको पवित्र धार्मिक तीर्थस्थल गोदावरीधाममा हरेक वर्षझैँ यस वर्ष पनि बाह्रराशि मकर मेला सुरु भएको छ। मकर सङ्क्रान्तिको अवसरसँगै गएरातिदेखि नै गोदावरी नदीमा स्नान गर्ने भक्तजनहरूको उल्लेख्य भीड देखिएको छ।
कैलाली र कञ्चनपुरका साथै अछाम, डोटी, बाजुरा, बझाङलगायत पहाडी जिल्लाबाट पनि भक्तजनहरू गोदावरीधाममा स्नान तथा दर्शनका लागि आइरहेका छन्। भारतबाट समेत श्रद्धालुहरू आउने गरेको गोदावरीधाम विकास समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए।
मेलालाई लक्षित गर्दै कुम्भ मेला लाग्ने क्षेत्रमा कुम्भ बाटिकालाई विशेष रूपमा सजाइएको छ। त्यहाँ बाह्र राशी, ग्रह तथा नक्षत्रहरूको स्थापना गरिएको छ। यही कारण गोदावरीमा लाग्ने यस मकर मेलालाई ‘बाह्रराशि मकर मेला’ नामाकरण गरिएको हो।
मेलामा आउने भक्तजनहरूले १२ दिनसम्म आ–आफ्नो राशि, ग्रह र नक्षत्रअनुसार पूजा–आराधना गर्न सक्ने व्यवस्था गरिएको जोशीले बताए।
भक्तजनहरूको सुविधाका लागि मेला परिसरमा बजार व्यवस्थापन गरिएको छ भने स्नान गर्न सहज होस् भनी स्नान कुण्डहरू पनि निर्माण गरिएको छ। त्यसैगरी हनुमान मन्दिरदेखि मूल मन्दिर गेटसम्म नगरपालिकाले सडक बत्ती जडान गरेको छ।
गोदावरीको पुरानो शिव मन्दिरमा मकर मेलाको अवसरमा विशेष भीड देखिएको छ। रातभर भजन–कीर्तन भइरहेको र भक्तजनहरू नदीमा स्नान गरी शिव मन्दिरमा पूजा–दर्शन गरेर फर्किने क्रम जारी छ।
यद्यपि गोदावरीधाम क्षेत्रमा विभिन्न समिति र समूहहरूले आ–आफ्नै शैलीमा व्यवस्थापन तथा गतिविधि सञ्चालन गरिरहेका छन्।