कैलाली जिल्लाको चुरे गाउँपालिका–६, कुमैना निवासी ५३ वर्षीय ज्ञानेन्द्र बहादुर खत्री गम्भीर दुर्घटनामा परेपछि जीवन–मरणको सङ्घर्ष गरिरहेका छन्।
उनी रोजगारका लागि बैंगलोर (भारत) जाने क्रममा बाटोमै दुर्घटनामा परी गम्भीर रूपमा घाइते भई अलपत्र अवस्थामा भेटिएका थिए। लामो समय उपचार नपाउँदा उनको अवस्था झन् जटिल बनेको र पछि उद्धार गरी नेपाल ल्याइएको थियो।
नेपाल ल्याइएपछि उनको उपचार नब जीवन अस्पतालमा भइरहेको छ। चिकित्सकका अनुसार गम्भीर सङ्क्रमण फैलिएकाले खत्रीको एक खुट्टा काट्नुपर्ने अवस्था आएको छ। हाल उनी अस्पतालमै उपचाररत छन्।
घरको मुख्य कमाउने व्यक्ति नै दुर्घटनामा परेपछि खत्रीको परिवार अहिले गम्भीर आर्थिक संकटमा परेको छ। सामान्य मजदुरी गरेर परिवार पाल्दै आएका खत्रीको उपचार खर्च, औषधि तथा भविष्यको पुनर्स्थापना खर्च जुटाउन परिवारसँग कुनै स्रोत छैन।
खत्रीका आफन्तहरूले मानवीय सहयोगको अपिल गरेका छन्।
“जीवन बच्यो, तर अब उपचार र जीवनयापनका लागि ठूलो सहयोग चाहिन्छ,” परिवारजनले भनेका छन्।
स्थानीय समाजसेवी तथा सरोकारवालाहरूले सरकार, स्थानीय तह र सहयोगी मनहरूलाई खत्रीको उपचार र पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेका छन् ।
परिवारजनले सहयोग गर्न इच्छुक लाई मोबाइल नम्बर ९८४८४४२६२८ मा सम्पर्क राखिदिन अनुरोध गरेको छ ।