कैलालीको चुरे क्षेत्रमा व्यापक रुपमा वन फडानी भइरहेको पाइएको छ । सामुदायिक वनका पदाधिकारीकै मिलेमतोमा हरिया सालका रुख काटेर काठ तस्करी भइरहेको भेटीएको हो ।
कैलालीको चुरे गाउँपालिका–२ खैरालास्थित सामुदायिक वन क्षेत्रमा अवैध रुपमा काटिएका झण्डै २० वटा हरिया सालका रुख चिरान गरिएको अवस्थामा करिब ६ सय क्युफिट काठ बरामद गरिएको छ। डिभिजन वन कार्यालय धनगढीले विशेष सूचनाको आधारमा गरेको अनुगमनका क्रममा उक्त अवैध गतिविधि फेला परेको हो।
डिभिजन वन कार्यालय धनगढीका प्रमुख डिभिजनल वन अधिकृत (डिएफओ) रामविचारी ठाकुरको नेतृत्वमा खटिएको टोलीले त्रिवेणी सामुदायिक वन र झरना सामुदायिक वन भित्रै चिरान गरिएको सालको काठ बरामद गरेको हो। वन कार्यालयका अनुसार झरना सामुदायिक वनबाट करिब २०० वटा र त्रिवेणी सामुदायिक वनबाट ३१९ वटा कडी, फ्रेम र फन्टा बरामद गरिएको छ।
डिएफओ ठाकुरका अनुसार सामुदायिक वनका अध्यक्षसहित केही पदाधिकारीको प्रत्यक्ष संलग्नतामा सालका रुख काट्ने, काठ बिक्री गर्ने र वन क्षेत्र अतिक्रमण गर्ने ठूलो योजनाबद्ध तस्करी भइरहेको पाइएको छ। वन कार्यालयको टोली घटनास्थलमा पुगेपछि संलग्न सामुदायिक वनका पदाधिकारी फरार भएका छन् र उनीहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।
डिभिजनल वन अधिकृत ठाकुर मङ्सिर २६ गते मात्रै धनगढीस्थित कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका हुन । जिम्मेवारी सम्हालेपछि चुरे क्षेत्रमा वन फडानी र अतिक्रमण बढेको भन्ने सूचनाका आधारमा निरन्तर गस्ती र अनुगमन तीव्र पारिएको उनले बताए ।
“चुरे क्षेत्रमा केही समययता अवैध रुपमा वन फडानी र अतिक्रमण भइरहेको भन्ने सूचनाका आधारमा लगातार गस्ती गर्दा यस्तो ठूलो परिमाणमा काठ फेला परेको हो,” डिएफओ ठाकुरले भने, “वन अतिक्रमण र फडानीमा संलग्न जोसुकै भए पनि कानुनी दायरामा ल्याइन्छ, कसैलाई पनि छुट दिइने छैन।”
वन कार्यालयले अन्य चुरे क्षेत्रहरूमा पनि गस्ती थप कडा बनाइएको जनाएको छ। यस घटनाले सामुदायिक वन संरक्षणप्रति गम्भीर प्रश्न उठाएको छ भने चुरे जस्तो संवेदनशील क्षेत्रको दीर्घकालीन संरक्षणमा चुनौती थपिएको सरोकारवालाहरूले बताएका छन्।