कैलालीको अत्तरियामा भोलिदेखि ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ सुरु हुने भएको छ। न्यु सृजनशील युवा क्लबको आयोजनामा पुष ९ गते बुधबारदेखि पुष १९ गते शनिबारसम्म महोत्सव सञ्चालन हुनेछ।
आयोजक क्लबले मंगलबार पत्रकार सम्मेलन गरी महोत्सवको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो। महोत्सवको उद्घाटन गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले गर्ने कार्यक्रम रहेको छ।
क्लबका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक नरबहादुर राईले स्थानीय विभिन्न सहयोगी संस्था तथा व्यक्तिहरूको सहयोगमा महोत्सव आयोजना गरिएको बताए।
उनका अनुसार महोत्सवबाट प्राप्त आम्दानीको ५ प्रतिशत अनाथ बालबालिकाको सहयोगमा खर्च गरिनेछ भने बाँकी रकम खेलकुद तथा सामाजिक क्षेत्रमा लगानी गरिनेछ।
आयोजकका अनुसार महोत्सव अवलोकन गर्न करिब डेढ लाख दर्शक सहभागी हुने अनुमान गरिएको छ। यस वर्ष महोत्सव स्थल परिवर्तन गरी अत्तरिया चोक नजिकैको खुला चौरमा महोत्सव सञ्चालन हुनेछ।
सुरक्षाका लागि महोत्सव स्थलमा सीसी क्यामेरा जडान गरिएको छ भने सबै सुरक्षा निकायसँग समन्वय गरिएको आयोजकले जनाएको छ। महोत्सवमा हरेक दिन स्थानीय तथा राष्ट्रिय कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ।
प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र अन्यका लागि १०० रुपैयाँ तोकिएको छ। सम्पूर्ण महोत्सव अवधिभरका लागि ५०० रुपैयाँको पास उपलब्ध गराइनेछ। उद्घाटनको दिन पुष ९ गते बुधबार प्रवेश निःशुल्क रहने जानकारी आयोजकले दिएको छ।
महोत्सवमा करिब १८० वटा व्यापारिक स्टलहरू रहनेछन्।