आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा उम्मेदवार तथा राजनीतिक दलले प्रयोग गर्ने सवारीसाधनमा कडाइ गरिएको छ।
प्रस्तावित आचारसंहिताअनुसार अनुमति नलिई कुनै पनि उम्मेदवार वा दलले सवारीसाधन प्रयोग गर्न पाउने छैनन्। अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सवारी प्रयोग गरी निर्वाचन प्रचार–प्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्नसमेत रोक लगाइएको छ।
अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारी नियन्त्रणमा लिई कारबाही गरिने व्यवस्था गरिएको छ। ट्राफिक प्रहरी वा सुरक्षाकर्मीले सवारी नियन्त्रणमा लिएर जिल्ला आचारसंहिता अनुगमन समितिलाई जानकारी गराउनुपर्नेछ।
निर्वाचन अधिकृतको अनुमति लिएर सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार रहेको स्थानमा बढीमा दुईवटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे सवारीसाधन प्रयोग गर्न सकिनेछ। सवारीसाधन नचल्ने स्थानमा भने चारवटा घोडा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
प्रस्तावित आचारसंहितामा विदेशी नम्बर प्लेटका सवारीसाधन प्रयोग पूर्ण रूपमा निषेध गरिएको छ। साथै, सवारीसाधनको स्वरुप परिवर्तन गरी प्रयोग गर्न वा गराउन नपाइने उल्लेख छ।
अनुमति प्राप्त सवारीसाधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन नपाइने र अनुमति लिएको सवारी प्रयोग गरी मतदाता ओसारपसार गर्न नपाइने व्यवस्था गरिएको छ।
यद्यपि, हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक लगायतका मतदाताका हकमा निर्वाचन अधिकृतको अनुमति भए सवारी प्रयोग गर्न सकिनेछ।
यसैगरी, राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएको मुख्य प्रचारकले हेलिकप्टर प्रयोग गर्न सक्ने व्यवस्था पनि प्रस्तावित आचारसंहितामा समेटिएको छ।