सुदूरपश्चिम प्रदेशमा लागुऔषधको दुरुपयोग र तस्करी पछिल्लो केही वर्षयता तीव्र रूपमा बढ्दै गएको छ। भारतसँगको खुला सीमा र कैलाली–कञ्चनपुर हुँदै पहाडी जिल्लासम्म सहज प्रवेश मार्गको फाइदा उठाउँदै लागुपदार्थ तस्करी व्यापक बन्दै गएको प्रहरी तथ्याङ्कले देखाएको छ।
प्रदेश प्रहरीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा ३९२ जनामात्र पक्राउ परेका थिए। तर यो संख्या प्रत्येक वर्ष बढ्दै गइरहेको छ। २०७९/८० मा ८५६ जना, २०८०/८१ मा ९१६ जना र २०८१/८२ मा १,०४३ जना लागुऔषध प्रकरणमा पक्राउ परेका छन्। चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म मात्रै १५९ जनालाई पक्राउ गरिएको छ।
सबैभन्दा धेरै पक्राउ कैलाली जिल्लाबाट भएका छन्।
गाँजा, चरेस, ब्राउनसुगर, हेरोइनलगायतका लागुपदार्थको बरामद मात्रा पनि पछिल्ला वर्षमा उल्लेखनीय रूपमा बढेको प्रहरी स्रोतले जनाएको छ। तस्करी तथा सेवनका कारण बझाङ, बाजुरा, दार्चुला जस्ता पहाडी जिल्लासमेत जोखिममा परेका छन्।
लागुऔषधको समस्या जटिल बन्दै गएपछि सुदूरपश्चिम युवा परिषद्ले प्रदेशव्यापी लागुऔषध नियन्त्रण जागरण अभियान सुरु गरेको छ। अभियानको सुरुवात कैलालीको मोहन्याल माध्यमिक विद्यालयबाट गरिएको हो।
उद्घाटन कार्यक्रममा सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले लागुऔषधलाई प्रदेशको ठूलो सामाजिक चुनौतीका रूपमा चित्रित गर्दै, “सामूहिक प्रयासबिना समाधान सम्भव छैन,” भनिन्।
कार्यक्रममा सहभागी सरोकारवालाहरूले परिवार, विद्यालय, समुदाय र प्रदेश सरकार सबैको सक्रिय भूमिकाको आवश्यकता रहेकोमा जोड दिएका थिए। केही सहभागीहरूले सेवनकर्ताभन्दा तस्कर र कारोबारीमाथि कडा कारबाही गर्नुपर्ने सुझाव पनि दिएका छन्।
युवा परिषद्का अनुसार प्रदेशका नौवटै जिल्लामा पुगेर अन्तरक्रिया, जनचेतना कार्यक्रम र नीतिगत छलफल निरन्तर सञ्चालन गरिनेछ।