कैलालीको गोदावरी नगरपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि औपचारिक रूपमा सुरु भएको छ।
नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत धर्मराज विनाडी र इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक पुष्कर पन्तले सामूहिक रूपमा १६ वटा मैनबत्ती बाली अभियानको उद्घाटन गरेका हुन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा सुरु भएको अभियानअन्तर्गत १६ दिनसम्म जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन हुने शाखा प्रमुख गोदावरी धामीले जानकारी दिइन्। उनका अनुसार नगरपालिकाका विभिन्न स्थानहरूमा सडक नाटक तथा जागरणमूलक कार्यक्रम प्रस्तुत गरिनेछ।
उद्घाटन समारोहमा बोल्दै उपप्रमुख रोकायाले महिलामाथि घर–परिवारदेखि समाजसम्म देखिने सबै किसिमका हिंसा अन्त्य गर्नुपर्ने बताइन्। “महिलाहिंसा अन्त्यको सुरुआत घरदेखि हुनुपर्छ। महिला–पुरुषलाई समान दृष्टिकोणले हेर्ने संस्कार बसाल्न आवश्यक छ,” उनले भनिन्।
अभियानमा नगरपालिकाभित्रका विभिन्न संघ–संस्थाले महिला विकास शाखासँग समन्वय गरेर कार्यक्रमहरू सञ्चालन गर्ने भएका छन्।
उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज विनाडी, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रतिनिधि तथा विभिन्न संस्थाका पदाधिकारीहरूको उपस्थिति थियो।
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने यो अभियानलाई सुरु भएको यस वर्ष ३४ वर्ष पूरा भएको छ।