कञ्चनपुरको कृष्णपुर नगरपालिकामा कोरिया अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (KOICA) को सहयोगमा सुदूरपश्चिम पोलिटेक्निक इन्स्टिच्युट निर्माण हुने भएको छ। कृष्णपुर–७ स्थित वडा कार्यालय नजिकै यस इन्स्टिच्युट स्थापना गरिनेछ।
सोमबार KOICA नेपालका देशीय निर्देशक मूहन कोङको नेतृत्वमा आएको टोलीले प्रस्तावित स्थानको साइट भिजिट गरेको हो। भिजिटपछि निर्देशक कोङले स्थल आफूलाई आकर्षक र उपयुक्त लागेको प्रतिक्रियासहित नेपाल सरकारसँगको सहकार्यबारे खुसी व्यक्त गरे।
उनका अनुसार परियोजना आगामी वर्ष (२०२५) बाट निर्माण चरणमा प्रवेश गर्नेछ।
स्थानीय सरकारको सकारात्मक संकेत
कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले KOICA टोलीको सकारात्मक प्रतिक्रियाले आफूहरू उत्साहित भएको बताए।
उनले भने, “यो परियोजनाले कृष्णपुर मात्रै होइन, सुदूरपश्चिमकै प्राविधिक शिक्षा क्षेत्रमा नयाँ अवसर सिर्जना गर्नेछ।”
नगरपालिकाले कलेज निर्माणका लागि वडा नं. ७ मा रहेको चारैतिर सडकले घेरिएको उपयुक्त जग्गा उपलब्ध गराउनेछ।
५ वर्षे परियोजना, १० मिलियन डलरको लगानी
सन् २०२५ देखि २०३० सम्म सञ्चालन हुने यस परियोजनाको लागत १० मिलियन अमेरिकी डलर निर्धारण गरिएको छ।
गत भदौमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव शिवकुमार सापकोटा र KOICA नेपाल प्रमुख मूहन कोङबीच सम्झौता हस्ताक्षर भएको थियो।
साइट भिजिटमा परियोजना उप–निर्देशक चोङ हे चो, CTEVT का कार्यकारी निर्देशक महेस भट्टराई, कृष्णपुरकी उप–प्रमुख द्रोपती राना, वडा नं. ७ का अध्यक्ष घुम्मन रानालगायतको उपस्थिति थियो।