कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्काविरुद्ध प्रमाणबिहीन समाचार प्रकाशित गर्ने दर्ता नभएको अनलाइन मिडियाविरुद्ध प्रेस काउन्सिल नेपालले कारबाही प्रक्रिया अघि बढाएको छ।
फरक प्रेस डटकम (farakpress.com) नामक अनलाइनले “डीआईजीसँग बिचौलिया चोरसँग सँगत” शीर्षकमा समाचार प्रकाशित गरेको भन्दै खड्काले प्रेस काउन्सिलमा औपचारिक उजुरी दर्ता गरेका थिए।
काउन्सिलले प्रारम्भिक अध्ययनपछि सो वेबसाइट प्रेस काउन्सिलमा दर्ता नभएको, साथै प्रकाशित सामग्री स्रोतविहीन, प्रमाणबिहीन र पत्रकार आचारसंहिताविपरीत रहेको ठहर गरेको हो।
काउन्सिलको पत्रमा उल्लेख छ —“दर्ता नभएको मिडियाबाट प्रकाशित प्रमाणबिहीन समाचारले नागरिकको सामाजिक मर्यादामाथि आघात पुर्याएको छ। त्यसका विरुद्ध कानूनी तथा आचारसंहितामूलक प्रक्रिया अघि बढाइनेछ।”
व्यवसायी ज्ञानेन्द्र खड्का लामो समयदेखि व्यापारसँगै सामाजिक र सांस्कृतिक क्षेत्रमा पनि सक्रिय व्यक्ति हुन्। उनले विद्यालय, धार्मिक स्थल तथा विपन्न र विपद्को अवस्थामा परेका परिवारहरूलाई सहयोग गर्दै आएका छन्।
केही महिनाअघि खड्कालाई ‘प्रहरीसँग अभद्र व्यवहार’ गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो। अनुसन्धानपछि केही दिनमै उनी निर्दोष ठहर हुँदै मुक्त भएका थिए। तर सोही अवधिमा केही व्यक्तिहरूले उनलाई भारतबाट ल्याइएको सुनकाण्डसँग जोड्ने प्रयास गरेको थियो।
प्रेस काउन्सिलको निर्देशनपछि फरक प्रेस डटकमले सम्बन्धित समाचार हटाइसकेको जनाएको छ। तर खड्का भने उक्त घटनाले आफ्नो इमानदार छविमाथि आघात पुर्याएको भन्दै आक्रोशित बनेका छन्।
उनले भने — “म समाज र सहयोगमा विश्वास गर्ने मान्छे हुँ। झुटा र मनगढन्ते समाचारले मेरो इमानदार छवि बिगार्ने प्रयास भयो, तर सत्य र न्यायले अन्ततः जित्नेछ।”