‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले आफूलाई ‘सुध्रिन तयार’ रहेको बताएका छन्। देश छोडेर जानुपर्ने अवस्था आए त्यसका लागि पनि आफू तयार रहेको उनको भनाइ छ।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले भने, “तपाईंहरू भन्नुहुन्छ, दुर्गा तँ देश छोडेर जा, तेरो कारणले यो सबै बिग्रियो भन्नुहुन्छ भने पनि म रेडी, म जान तयार। म जान्छु। मलाई लोभ छैन। मलाई केही चाहिँदैन।”
२०५७ सालदेखि नेकपा माओवादी हुँदै एमाले र अहिले राजसंस्था पुनर्स्थापनाको पक्षमा उभिएका प्रसाईंले आफ्नो राजनीतिक यात्राको चर्चा गर्दै जानेर वा नजानेर जेजस्ता कर्महरू भए पनि अब सुध्रिएर देश निर्माणमा लाग्नुपर्नेमा जोड दिए।
उनले भने, “ल, हिजो जे भयो-भयो, आफैंले बाटो बिर्सियौं। सबैले भुल्यौं। अब त कमसेकम देश जोगाउने, त्यो भुंग्रोमा गएको छ नि नेपाल, त्यसलाई उठाएर कमसेकम न्यानो ठाउँमा लैजाऔं।”
आफूलाई ‘रेण्डम टाइपको मान्छे’ बताउने प्रसाईंले मूलधारका मिडियाले आफ्नोबारेमा कहिल्यै राम्रो नलेखेको गुनासो गरे।
उनले भने, “मेन स्ट्रिमको मिडियाले त मलाई कहिल्यै राम्रो लेखेन, जीवनमा। मेरो नराम्रो लेख्यो, राम्रो कहिल्यै लेखेन।”
प्रसाईंले कात्तिक १५ गतेपछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन्। यद्यपि गृह मन्त्रालयले प्रदर्शन नगर्न आग्रह गर्दै उनलाई वार्तामा बोलाएको छ।
वार्तामा बोलाएको भोलिपल्ट पत्रकार भेटघाट गर्दै प्रसाईंले आइतबार सामाजिक सञ्जालमार्फत सरकारको वार्ता पहललाई जनताको आवाज सुन्ने प्रयासको रूपमा स्वागत गरेका छन्।