उज्यालो र खुशीको पर्व यमपञ्चक (तिहार) आजदेखि देशभर सुरु भएको छ। आज दिउँसो १:२३ बजेपछि त्रयोदशी तिथि लाग्ने भएकाले धनतेरस (धनत्रयोदशी) पर्व मनाइँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आजदेखि सुरु भएको तिहार ६ कात्तिकसम्म चल्नेछ।
समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालका अनुसार तिहारका मुख्य तिथिहरू यसप्रकार छन् —
कात्तिक १ : धनतेरस तथा यमदीपदान सुरु
कात्तिक २ : कुकुर तिहार, धनवन्तरी जयन्ती र नरक स्नान
कात्तिक ३ : लक्ष्मीपूजा
कात्तिक ५ : गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा तथा नेपाल संवत् ११४६ आरम्भ
कात्तिक ६ : भाइटीका (शुभ साइत बिहान ११:३९ बजे)
यस अवसरमा देशभरका सहरहरू बत्तीको झिलिमिलीले उज्यालिएका छन्। लक्ष्मीपूजाका दिन भैलो, गोवर्द्धन पूजाका दिन देउसी खेल्ने परम्परा यस वर्ष पनि उत्साहका साथ सुरु भएको छ।
नेपाल प्रहरीले पटाका नपड्काई सभ्य र सुरक्षित तरिकाले पर्व मनाउन आग्रह गरेको छ।