इजरायल र हमासबीच युद्धविराम सम्झौता भएपछि गाजामा बन्दी बनाइएका जीवित बन्धकहरूमध्ये रिहा हुने अपेक्षा गरिएका २० जनाको सूचीमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश भएको छैन।
सम्झौताअन्तर्गत इजरायलले अझै पनि २२ जना जीवित रहेको विश्वास गरेको छ। यद्यपि बाँकी दुईजना जीवित बन्धकमा जोशी पनि हुनसक्ने आशा जीवितै छ। उक्त युद्धविराम सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न भएको हो।
यी बन्धकहरू सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको ऐतिहासिक आक्रमणका क्रममा अपहरणमा परेका थिए, जुन इजरायलको इतिहासकै सबैभन्दा घातक घटना मानिन्छ।
हमासको सशस्त्र शाखाले सोमबार आफ्नो टेलिग्राम च्यानलमार्फत रिहा हुने बन्धकहरूको नामावली सार्वजनिक गरेको छ। सूचीमा रहेका २० जना मध्ये अधिकांशलाई हमासले गाजापट्टीका विभिन्न स्थानमा बन्दी बनाएको थियो। तीमध्ये केही सैनिक, केही नागरिक र केही विदेशी नागरिकता भएका इजरायली छन्।
रिहा हुने बन्धकहरूमा मतन एङ्ग्रेस्ट, गली र जिव बर्मन, एल्काना बोबोट, रोम ब्रास्लाभस्की, निम्रोद कोहेन, डेभिड र एरियल कुनियो, इभ्यातार डेभिड, गाइ गिलबोआ दलाल, म्याक्सिम हर्किन, इटन हर्न, सेगेव काल्फोन, बार कुपरस्टीन, ओमरी मिरान, एटान मोर, योसेफ हैम ओहाना, एलोन ओहेल, अविनातन ओर र मतन जाङ्गाउकर रहेका छन्।
इजरायली अधिकारीहरूले बन्धकहरूको सुरक्षित फिर्तीका लागि आफ्नो कूटनीतिक प्रयास जारी रहेको बताएका छन्। राष्ट्रपतिका अनुसार युद्धविराम सम्झौताअन्तर्गत पहिलो चरणमा यी २० जनाको रिहाइ हुनेछ भने बाँकी बन्धकहरूको फिर्तीका लागि छलफल अघि बढ्नेछ।
हमास र इजरायलबीचको यो सम्झौता सन् २०२३ अक्टोबरमा सुरु भएको दुई वर्षभन्दा बढीको युद्ध अन्त्यतर्फको एक महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ। ट्रम्पले प्रस्ताव गरेको २०–बुँदे शान्ति योजनाको प्रारम्भिक कार्यान्वयनका रूपमा यो आदानप्रदान सम्पन्न हुन लागेको हो।
रिहा हुने बन्धकका परिवारहरू तेल अभिव र जेरुसेलममा भेला भई आफ्नो प्रियजनको सुरक्षित फिर्तीका लागि आभार व्यक्त गरिरहेका छन्।
इजरायली सरकारका अधिकारीहरूले भने, “यी नागरिकहरूको फिर्ती हाम्रो सामूहिक दृढता र अन्तर्राष्ट्रिय साझेदारीको परिणाम हो। गाजाबाट आफ्ना प्रियजनहरू सुरक्षित फर्कँदा देशभर राहत र खुसीको वातावरण छाएको छ।”
नेपालका चौबिस वर्षीय युवा विपिन जोशी आक्रमण हुनुभन्दा एक महिनाअघि मात्र आफ्नो जन्मस्थान नेपालबाट इजरायल पुगेका थिए। कृषि अध्ययनका लागि विद्यार्थी आदानप्रदान कार्यक्रममा सहभागी उनी गाजाको सीमामा रहेको किबुट्ज अलुमिममा कार्यरत थिए।
कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणका क्रममा मृत्यु भएको थियो। उनीहरू बम आश्रयमा लुकेका थिए र हमलाका क्रममा फ्याँकिएका ग्रेनेडहरूबाट बाँच्न सफल भए पनि जोशी घाइते भएर अपहरणमा परेका थिए।
स्रोत : रासस / एएफपी