प्रधानमन्त्री सुशीला कार्कीले देशभर भइरहेको अविरल वर्षाले सिर्जना गरेको विपद्को अवस्थामाथि गम्भीर ध्यानाकर्षण गर्दै नागरिकलाई जोखिमबाट बचाउन राज्यका सबै स्रोत र निकाय परिचालन गरिएको बताउनुभएको छ।
देशवासीका नाममा शुक्रबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले असोज १७ गते बेलुकीदेखि निरन्तर भारी वर्षा भइरहेकोले सुरक्षा निर्देशन पालना गरी सुरक्षित रहनुहोस् भन्दै सबैलाई सचेत रहन अपिल गर्नुभएको हो।
उहाँले भन्नुभयो, “हामी बाढी, पहिरो र कटानको उच्च जोखिममा छौँ। सरकारी निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ २४ सै घण्टा लागिपरेका छन्। जहाँ हुनुहुन्छ, त्यही सुरक्षित बस्नुस्, आवतजावत नगर्नुस्, सवारी नचलाउनुस् र सुरक्षालाई नै प्राथमिकता दिनुस्।”
प्रधानमन्त्रीले जल तथा मौसम विज्ञान विभागका अनुसार अझै दुई दिनसम्म वर्षा जारी रहने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गर्नुभयो। जोखिमको कारण सरकारले आइतबार र सोमबार देशभर सार्वजनिक बिदा दिएको पनि उहाँले सन्देशमा उल्लेख गर्नुभयो।
उहाँले प्रहरी र अन्य सरकारी निकायले जारी गरेका सूचना तथा निर्देशनको पालना गर्न सबै नागरिकसँग अनुरोध गर्दै, “तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी काम हो,” भन्ने स्पष्ट सन्देश दिनुभयो।
प्रधानमन्त्री कार्कीले सम्पूर्ण सरकारी कर्मचारीलाई नागरिकको सुरक्षाका लागि उच्च मनोबलका साथ सक्रिय रहन निर्देशन समेत दिनुभएको छ र तीव्र बहाव तथा डुबान क्षेत्रमा यात्रा नगर्न आग्रह गर्नुभएको छ।